काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोपमा उजुरी परेको छ । उनीविरुद्ध गत भदौ ५ गते एक बालिकालाई जबरजस्ती करणी गरेको उजुरी परेको हो । सोही आधारमा पक्राउ गर्न नेपाल प्रहरीले प्रक्रिया अघि बढाएको जनाएको छ । बालिकाको उमेर कति हो त्यो भने खुलेको छैन ।
हाल सन्दीप वेस्टइन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि उतै छन् । सीपीएलको फाइनल अक्टुबर १, २०२२ अर्थात् आउँदो असोज १५ मा हुनेछ । सन्दीप आबद्ध टिम सेमिफाइनल वा क्वाटरफाइनलमा पुग्न नसकेको खण्डमा उनी चाँडै नेपाल फर्कन सक्नेछन् । उनलाई आरोप लागेपछि अनुसन्धानका लागि इन्टरपोलमार्फत नियन्त्रणमा लिने प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जनाएका छन् ।
उजुरीमा नाबालिकले सन्दीपसँग सामाजिक सन्जालमार्फत चिनजान भएको र भेट्न बोलाएर उनले आफूलाई जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।
उजुरीमा बालिकाले बालात्कार भएको दिन भदौमा ५ गते आफूलाई सन्दीपले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँसहित नगरकोटसम्म घुमाएको र राति पिंगलास्थानको होटेलमा लगेर राखेको विवरण उल्लेख गरेकी छन् ।
सन्दीपका शुभचिन्तकहरूले भने उनीमाथि जाहेरी दर्ता भएपछि सकेसम्म चाँडो नेपाल फर्केर प्रहरीलाई अनुसन्धानमा सघाउनु नै उचित हुने भन्दै सामाजिक सन्जालमार्फत सुझाव दिएका छन् ।
