काठमाडौं । आसन्न निर्वाचनलाई प्रभावित गर्नेगरी कर्मचारीलाई सरुवा गरेको भन्दै एमालेले सरकारको ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा प्रमुख सचेतक विशाल भट्टराईले छनोट गरी-गरी आफ्नो मान्छेलाई पठाउने र सार्ने काम गरेको भन्दै आपत्ति जनाए ।
‘आस्थाका आधारमा आफ्ना मान्छे छानिछानि जिल्ला-जिल्लामा प्रहरी प्रमुख र जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी पठाउने काम भइरहेको छ’, भट्टराईले भने ‘स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पनि त्यसैगरी पठाउने काम गरिएको छ ।’
गत स्थानीय तह निर्वाचनमा पनि कर्मचारीको प्रयोग गरेर विपक्षीलाई चरम दमन गरेको पनि उनले बताए । सरकारले मिल्ने भए झण्डा नै बोक्ने मान्छेलाई पठाउने प्रयास गरेको उनको भनाइ छ । उनले मंसिरसम्म जो जहाँ छ त्यही राख्न र सरुवाको काम नगर्न सरकारको ध्याकर्षण गराए ।
काम चलाउमा परिरत भइसकेको सरकाले संसदमा पनि दीर्घकालीन महत्वको विधेयकहरु पेस गरेको भन्दै भट्टराईले असन्तुष्टि व्यक्त गरे । उनले हाँस्य कलाकार अपूर्व क्षितिज सिंहलाई आफ्नो हाँस्य कला प्रस्तुत गर्दा पक्राउ गरेको भन्दै रिहाइ गर्न माग गरे ।
