काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनको निम्ति अहिलेदेखि नै गाउँगाउँमा परिचालित हुन आम कार्यकर्तालाई निर्देशन दिएका छन् ।
माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आयोजना गरेको निर्वाचन केन्द्रित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले निर्वाचन केन्द्रित हुँदै पार्टीले गरेका कामलाई जनतासम्म पुर्याउन निर्देशन दिए ।
उनले भने, ‘अहिले हामी एउटा निर्वाचनको ब्याटलमा जाँदै छौँ, पार्टीको नीति भनेको सडक, सदन र सरकार गरी तीनवटै मोर्चाबाट सङ्घर्ष गर्ने हो, त्यसो गर्दा आन्दोलनका उपलब्धिको रक्षा गर्न सकिन्छ, र नयाँ उपलब्धि पनि हासिल गर्न सकिन्छ ।’ संविधानका कतिपय विषयमा असन्तुष्टि हुदाहुँदै पनि नैतिक र राजनीतिक जिम्मेवारीलाई बहन गर्दै निर्वाचन प्रणाली र शासकीय स्वरुपमा सुधार गर्दै संविधानमा गरिएको व्यवस्थाअनुसार ऐनहरु निर्माण गर्ने र समाजवादको यात्रामा जाने पार्टीको मुख्य उद्देश्य रहेको प्रष्ट पारे ।
पछिल्लो समय निर्वाचन प्रणालीमा देखिएका विकृति र विसङ्गतिलाई सच्याउने, सुधार गर्नेलगायत पार्टीको अभियान सुनाउँदै अध्यक्ष प्रचण्डले पार्टीको उद्देश्य र अभियानलाई सफल बनाउँदै निर्वाचनमा परिचालित हुन पनि निर्देशन दिए । अध्यक्ष प्रचण्डले भने, “यी हाम्रा उद्देश्य, अभियानलाई सफल बनाउन तपाईंहरु क्रान्तिकारी फोर्सको रुपमा, अनेरास्ववियु क्रान्तिकारीको रुपमा वा स्वयंसेवकको रुपमा जनताको बीचमा पार्टीको मान्यतालाई स्थापित गर्न विशेष निर्देशन गर्दछु, तपाईंहरु टोलटोलमा पुग्नुपर्छ, गाउँगाउँमा पुग्नुपर्छ र जनतालाई एउटा नयाँ चेतनामार्फत जागरुक बनाउनुपर्नेछ ।
