काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अंकले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलव ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक शून्य दशमलब ५४ अंकले ओरालो लागेर तीन सय ७६ दशमलब ८४ मा सीमित भएको छ ।
दुई सय २७ कम्पनीको ३४ लाख एक हजार ६ सय ९२ कित्ता सेयर एक अर्ब चार करोड ४३ लाख ७९ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये बिहीबार सात उपसमूहको मूल्यमा गिरावट आएको छ । यस्तै ६ उपसमूहको सेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ चार दशमलव शून्य ६, व्यापार १७ दशमलव ५९, उत्पादन १३, अन्य १८ दशमलव ८५, लघुवित्त एक दशमलव ५५, जीवन बिमा २४ दशमलब ८२, नागरिक लगानी कोष शून्य दशमलव १३ अंकले ओरालो लागेको छ ।
यस्तै होटेल तथा पर्यटन १० दशमलव ९७, विकास बैंक ३७ दशमलव १३, जलविद्युत् १३ दशमलव ७८, वित्त २२ दशमलव दुई र निर्जीवन बिमा एक दशमलव ७१ र लगानी शून्य दशमलव शून्य दुई अंकले उकालो लागेको छ । नेप्सेका अनुसार बिहीबारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक रुपैयाँबराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १३ करोड १० लाख ४५ हजार तीन सय ६५ रुपैयाँबराबरको कारोबार भयो ।
रिडी पावर कम्पनी चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक तीन करोड ३५ लाख पाँच हजार ६ सय ७८, प्राइम बैंक दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एसियन लाइफ इन्स्योरेन्स दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ रुपैयाँबराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार ग्लोबल आईएमई लघुवित्त चार दशमलब ४९, मल्टिप्रपोज फाइनान्स कम्पनी चार दशमलव शुन्य नौ, ग्लोबल आईएमई बैंकको ऋणपत्र तीन दशमलव ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलव ९० र विन्दवासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ७० प्रतिशतले कमाएका छन् ।
यस्तै सामुदायिक लघुवित्त ६ दशमलब ४९, अप्पर हेवाखोला पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव ६०, एनएमबी हाइब्रिड फन्ड-१ भने तीन दशमलब ६१ र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।
