काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको बताएका छन् ।
वीपी कोइरालाको १०९ औँ जन्मजयन्तीका अवसरमा वीपी कोइराला स्मृति ट्रष्टले आयोजना गरेको ‘वीपी साहित्य सम्मान एवं वीपी सेनानी सम्मान तथा कृति लोकार्पण’ कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘पैसा लिएर टिकट बिक्री गर्ने प्रवृत्ति पार्टीभित्र हावी हुँदै गएको छ, कांग्रेसभित्र जनताको बीचमा जान अशंवण्डा गरिएको छ’, उनले भने । पार्टीका संस्थापक नेता वीपी कोइरालाका बारेमा पढ्न कांग्रेसलाई फुर्सद नभएको पनि उनको भनाइ थियो ।
उनले विश्वेश्वरप्रसाद कोइराला (वीपी) मा राष्ट्र, प्रजातन्त्र र समाजको चिन्ता भएको बताए । वीपी कोइरालाले नेपाली समाजलाई राम्रोसँग बुझेको उनको भनाइ छ । ‘विपी कोइरालाले विसं २००८ सालदेखि २०१४ सालसम्म देशका सबै भू–भागमा पुगेर त्यहाँको भूगोल, आर्थिक तथा सामाजिक अवस्था बुझ्नुभएको थियो, अहिले मुलुकमा देश, जनता र भूगोल बुझ्ने नेता छैनन्’, उनले भने । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाप्रति लक्षित गर्दै डा यादवले भने, ‘तपाईं पार्टीको महामन्त्री भइसक्नुभयो, तपाईं सारा देश घुम्नुहोस्, तपाईंको भविष्य छ ।’
पूर्वराष्ट्रपति डा. यादवले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर राणा, गिरिजाप्रसाद कोइरालालगायतका नेताले मुलुकमा गरेको सङ्घर्ष र योगदानका कारण आफू गणतन्त्र नेपालको प्रथम राष्ट्रपति बन्ने अवसर पाएको स्मरण गरे । ‘मैले विसं २०२५ सालमा पहिलोपटक वीपी कोइरालालाई भेटेको हुँ, उहाँ देश र जनताप्रति सँधै चिन्तित हुनुहुन्थ्यो’, उनले भने । कांग्रेसका पूर्वमहामन्त्री डा कोइरालाले देश र जनताको अधिकारका लागि आजीवन सङ्घर्ष गर्ने नेता वीपी कोइराला भएको बताए । ‘वीपी कोइराला बाल मनोविज्ञान बुझ्ने व्यक्ति हुनुहुन्थ्यो, काम गर, फलको आश नगर भन्ने प्रवृत्ति उहाँमा थियो’, उनले भने ।
