सन्दीप प्रकरण : पक्राउपुर्जीदेखि आईसीसीसम्मको चासो, मौन बस्यो क्यान !

सन्दीप प्रकरण : पक्राउपुर्जीदेखि आईसीसीसम्मको चासो, मौन बस्यो क्यान !


  • 5.8K
    SHARES
    • भाद्र २४, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 8.9K Views

    सन्दीप प्रकरण : पक्राउपुर्जीदेखि आईसीसीसम्मको चासो, मौन बस्यो क्यान !

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध पक्राउपुर्जी जारी भएको छ । बालिका करणीको अभियोग लागेपछि प्रहरीले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतमा निवेदन दिएको थियो । सोही निवेदनलाई आधार बनाएर बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । 

    images

    केन्याविरुद्धको टी-ट्वान्टी सिरिजपछि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका सन्दीपविरुद्ध पक्राउपुर्जी जारी भएपछि इन्टरपोलको सहायतामा पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित मंगलबार प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी वृत्त गौशालामा परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटेलमा लगेर करणी गरेको आरोप लामिछानेविरुद्ध लागेको छ । 

    सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानकै क्रममा प्रहरीले बालिकाको विस्तृत स्वास्थ्य परीक्षण गरिसकेको छ । त्यस्तै अनुसन्धानबाटै काठमाडौं ९, सिनामंगलस्थित एक होटेलमा सन्दीप र ती किशोरी करिब सात घण्टा बसेको खुलेको छ । सीसीटीभी फुटेज हेर्दा ५ गते राति ११ः५५ मा पसेर ६ गते बिहान ६ः४६ मा उनीहरु दुवैजना होटेलबाट फर्किएको फुटेजमा देखिएको छ । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको फेला पारेपछि अदालतमा पक्राउपुर्जी जारी गर्न प्रहरीले निवदेन दिएको थियो । अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई पक्राउ गर्न सक्ने देखिएको छ । 

    सन्दीपसँग क्यानको कुराकानी : निर्दोष भएको दाबी

    सन्दीप लामिछानेको सन्दर्भमा धेरै प्रश्नहरु उठेपछि क्यानले बुधबार सम्पर्क गरेर उनीसँग कुराकानी गर्यो । लामिछानेले क्यानका सचिव प्रशान्त मल्लसँग कुराकानी गरेका थिए । कुराकानीमा उनले आफू निर्दोष रहेको बताए । लामिछानेले निर्दोष रहेको बताउँदै क्यानसँग आफूलाई कानुनी उपचारमा सहयोग गर्न आग्रह गरे । उनले आफ्नो लागि एक वरिष्ठ वकिलको व्यवस्था गरिदिनसमेत क्यानसँग अनुरोध गरेको सचिव मल्लले जानकारी दिए । उनका अनुसार सन्दीपले सीपीएलका हरेक खेलमा आफू खेल्ने र सीपीएल सकेर मात्र नेपाल फर्कने बताएका छन् ।

    तर उनीविरुद्ध पक्राउपुर्जी जारी भइसकेकाले उनीविरुद्ध आईसीसीले तथा क्यानले जुनसुकै समयमा जस्तोसुकै निर्णय लिन सक्ने अवस्था बनेको छ । साथै प्रहरीले चाहेमा इन्टरपोलको सहायतामा कुनै पनि समयमा उनलाई नेपाल ल्याउन सक्ने देखिएको छ । सन्दीपले हाल खेल्दै गरेको सीपीएलका खेले पनि पूरा रुपमा खेल्न पाउँछन् या पाउँदैनन् भन्नेमा पनि प्रश्न खडा भएको छ । 

    आईसीसीले चासो देखाउँदा पनि क्यान भने सन्दीपको पक्षमा !

    अदालतले पक्राउपुर्जी जारी गरिसकेको र आईसीसीले चासो देखाउँदा पनि नेपाल क्रिकेट संघ क्यान भने लामिछानेविरुद्धमा तत्काल कुनै कदम नचाल्ने पक्षमा देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बिहीबार क्यानसँग सन्दीप लामिछानेको मुद्दाबारे जानकारी लिएको थियो । आईसीसीले क्यानसँग सन्दीपमाथिको मुद्दा कस्तो किसिमको भनि सोधेको थियो । जवाफमा क्यानले बलात्कारको मुद्दा भएको र यदि पुष्टि भएमा सिरियस केस भएको बताएको थियो । 

    सन्दीपविरुद्ध करणीको उजुरी दर्ता भएपछि बुधबार क्यानको बैठक बसेको थियो । बैठकले लामिछानेमाथि तत्काल कुनै कदम नचाल्ने निर्णय गरेको थियो । सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने जनाएको थियो । कानुनी रुपमा पुष्टि नभइन्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने क्यानको भनाइ थियो ।

    यसरी क्रिकेटर लामिछानेको विषयमा अदालतले पक्राउपुर्जी जारी गर्न अनुमति दिँदा र आईसीसीले चासो देखाउँदा पनि क्यानले भने कुनै निर्णय नलिनुलाई क्यानले सन्दीप लामिछानेलाई बचाउ गर्न खोजेको हो कि भन्ने आशंक पैदा भएको छ । आईसीसीले नै चासो देखाइसकेको अवस्थामा यदि क्यानले उचित समयमा उचित र निष्पक्ष कदम चाल्न नसकेको खण्डमा आईसीसीको आँखामा नै क्यान नराम्रो साबित हुने अवस्था सिर्जना हुनसक्छ । यसर्थ पनि क्यानले लामिछानको विषयमा उचित कदम चाल्नुपर्ने देखिन्छ । 

    तर क्यानले भने नेपाल प्रहरीको अनुसन्धानमा सकारात्मक सहयोग गर्ने जनाएको छ । आफूहरुले आरोपकै भरमा सन्दीपविरुद्ध कुनै कदम चाल्दा उचित हुन नसक्ने क्यानको भनाइ छ । तर क्यानले प्रहरीको अनुसन्धामा आफ्ना तर्फबाट पूर्ण रुपमा सकारात्मक सहयोग गर्ने जनाएको छ ।