काठमाडौं । बालिका बलात्कारको आरोप लागेको नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) छोडेर नेपाल आउने भएका छन् ।
बालिका बलात्कारको आरोप लागेका उनीमाथि बिहीबार पक्राउपुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । सोहि कारणले उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।
सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ । आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए । कानुन सबैका लागि समान भएकाले आफू नेपाल आएर कानुनीरुपमै आरोपको विरुद्ध लड्ने उनले उल्लेख गरेका छन् ।
लामिछाने एक दुई दिनमै नेपाल फर्किने बताइएको छ । सन्दीपविरुद्ध एक व्यक्तिले आफ्नी १७ वर्षीया नाबालिका बहिनीलाई यही भदौ ६ गते जबरजस्ती करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएका थिए ।
