काठमाडौं । महानगरपालिकाले आज बिहानदेखि पशुपति क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेको छ । महानगरपालिकाले सूचना जारी गर्दै अव्यवस्थित संरचना तत्काल हटाउन आग्रह गर्दा अटेर गरेको भन्दै शुक्रबारदेखि अव्यवस्थित संरचना हटाउन सुरु गरेको हो । वडा नं ८ का अध्यक्ष आशामान संगतले पशुपतिनाथ वरपर निर्माण गरिएका अवैध संरचना तत्काल हटाउन व्यवसायीसँग आग्रह गरे पनि व्यापारीले नहटाएका कारण महानगरको टोलीले हटाउन सुरु गरेको हो । पटकपटक आग्रह गर्दासमेत पसल तथा व्यवसायीले नमानेपछि आफैँ स्थलगतरूपमा उत्रिएर संरचना हटाउन थालिएको अध्यक्ष संगतले बताए ।
पशुपति क्षेत्रका पसल व्यवसायीलाई शुक्रबार अवैध संरचना हटाउन आग्रह गरिएको र यसलाई अवज्ञा गरे शनिबारदेखि महानगरले सामान उठाएर लैजानेसमेत अध्यक्ष सङ्गतले जानकारी दिएका छन्। पशुपति क्षेत्र विकास कोषले अव्यवस्थित संरचनाबाट भाडा उठाइरहेको र वडामा समेत दर्ता नभएका पसल संरचना शुक्रबारदेखि बन्द गरिएको वडा कार्यालयले जनाएको छ । दशैँतिहारजस्ता चाडवाडका बीचमा पसल हटाउँदा रोजीरोटी गुम्ने अवस्था आएकाले महानगर तथा वडा कार्यालयले आफ्ना समस्याका विषयमा विचार गरी चाडवाडसम्म पसल सञ्चालन गर्न दिन व्यापारीले आग्रह गरेका छन् ।
