काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका विभिन्न ठाउँमा आएको बाढीपहिरोमा घाइते भएका र प्रभावितलाई तत्काल उद्धार, उपचार र राहतको व्यवस्था मिलाउन गृह प्रशासनलाई निर्देशन दिएका छन् । उनले आवश्यकतानुसार हेलिकोप्टरको प्रयोग गर्नसमेत निर्देशन दिए ।
उनले सरकार नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसका लागि कुनै कसर बाँकी नराख्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाँणको निर्देशनपछि बाढी र पहिरोमा परेर घाइतेको उद्धार गर्न कर्णाली प्रदेशको सुर्खेतबाट सेनाको हेलिकोप्टर घटनास्थलमा पुगेको र घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरिएको जानकारी दिए ।
नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म पाँचजनाको शव भेटिएको छ भने सातजना बेपत्ता तथा आठजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था चिन्ताजनक रहेको उनले बताए ।
