चन्द्रौटा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा आफ्नो पार्टीले २० लाख मत पाउने दाबी गरेका छन् ।
मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको जिकिर गरे । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे। उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए ।
मुस्लिम इत्तेहाद सङ्गठनले देशभरका प्रदेशमा भेला भइरहेकाले मुस्लिम एकजुट भई सङ्गठन बलियो बनाउन उनले आग्रह गरे ।पार्टीका सबै सङ्गठनलाई मजबुत बनाउने दायित्व सबै नेता र कार्यकर्ताको रहेकाले गाउँगाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा नेता नेपालले जोड दिए। उनले गरिब र अत्याचारविरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकाले आगामी निर्वाचनमा अत्यधिक मत पाउनेगरी काम गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए। छोरीलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै उनले स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । उनले मधेस प्रदेशले बेटी बचाउ, बेटी पढाउ अभियान सञ्चालन गरी छोरीलाई शिक्षाको पहुँचमा पुर्याउने प्रयास गरेको बताए ।
