काठमाडौं । बालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ ।
एकजना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् । प्रहरी बृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरिसकेको छ ।
आइतवार साँझसम्म नेपाल आइपुग्न लागेका उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतवार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ । भदौ ६ गते उनी केन्यामा हुने टी–२० खेलका लागि गएका थिए । त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए ।
क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किने भएका हुन् । उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए । उनीमाथि एक १७ वर्षीया नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।
