काठमाडाैं । अध्यागमन विभागले कालोसूचीमा राखेसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको मुद्दा अब कसरी अगाडि बढ्छ भन्ने प्रश्न खडा भएको छ । बालिका बलात्कारको आरोप लागेका सन्दीपलाई आइतबार अध्यागमन विभागले कालोसूचीमा राखेको हो । सन्दीपलाई विमानस्थलबाटै पक्राउ गर्न कालोसूचीमा राखिएको बताइएको छ । आइतबार साँझ सन्दीप नेपाल आइपुग्ने चर्चा भए पनि उनी कहिले आउने भन्ने विषय अझै पनि अन्योलमा छ ।
यही भदौ ६ गते केन्यामा हुने टी-ट्वान्टी खेलका लागि गएका उनी त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । तर उनीमाथि एक व्यक्तिले आफ्नो १७ वर्षीया नाबालिक बहिनीलाई यही भदौ ६ गते करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिए । महानगरीय प्रहरी वृत्त गौशालामा भदौ २३ गते परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटेलमा लगेर करणी गरेको आरोप लामिछानेविरुद्ध लाग्यो । घटना सार्वजनिक भएपछि सारा नेपाली र क्रिकेट फ्यान नेपाली क्रिकेटको विषयलाई लिएर चिन्तित भए भने घटनाको पक्ष तथा विपक्षमा विभिन्न किसिमको बहस पनि हुन थाल्यो ।
सन्दीपविरुद्ध परेको जाहेरीलाई आधार मान्दै प्रहरीले घटनाको अनुसन्धान गर्न सुरु गर्यो । अनुसन्धानका क्रममा प्रहरीले बालिकाको विस्तृत स्वास्थ्य परीक्षणदेखि लिएर सीसीटीभी फुटेजको समेत जाँच गर्यो । अनुसन्धान गर्दा काठमाडौं ९, सिनामंगलस्थित एक होटेलमा सन्दीप र ती किशोरी करिब सात घण्टा बसेको प्रहरीले फेला पार्यो । सीसीटीभी फुटेज हेर्दा ५ गते राती ११ः५५ मा पसेर ६ गते बिहान ६ः४६ मा उनीहरु दुवैजना होटेलबाट फर्किएका थिए । प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको फेला पारेपछि अदालतमा पक्राउपुर्जी जारी गर्न माग गर्यो । सोही निवेदनलाई आधार बनाएर बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति प्रदान गर्यो ।
अदालतले सन्दीपलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई टिमबाट निलम्बन गर्न बाध्य भयो र निलम्बन गर्यो । सन्दीप निलम्बनमा पर्नुभन्दा अगाडि आईसीसीले समेत सन्दीपको मुद्दाको विषयमा चासो देखाएर एन्फासँग कुराकानी गरेको थियो । सन्दीपको विषयमा प्रश्न उठेपछि बैठक बसेर क्यानले आरोप मात्र भएकाले तत्काल कुनै कदम नचाल्ने बताएका बताए पनि उनीविरुद्ध पक्राउ पुर्जी नै जारी भएपछि भने क्यानले सन्दीपलाई निलम्बन गर्यो ।
निर्दोष भएको सन्दीपको रटान
बलात्कारको आरोप लागेपछि सन्दीपले आफूमाथि लागेको सबै निराधार आरोपहरूको सामना गर्न तयार रहेको बताए । उनले आफू निर्दोष रहेको बताउँदै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको स्पष्ट रुपमा उल्लेख गरे । ‘निर्दोष छु । नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु । मैले सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय गरेको छु । म यी सबै निराधार आरोपहरूको सामना गर्न तयार छु । न्याय मिलोस् । सबैमाथि निर्दोष र सही छानबिन होस्, कानुनले सबैलाई समान रूपमा कारबाही गर्ने आशा छ,’ उनले ट्विट गरेका थिए ।
उसो त उनले क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग कुराकानी गर्दा पनि आफू निर्दोष भएको र क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेर नेपाल फर्कने बताएका थिए । सन्दीपलाई कल गरी तिम्रोविरुद्ध उजुरी परेको छ भनि जानकारी गराउँदा आफूलाई फसाइएको र आफू निर्दोष भएकाले कानुनी व्यवसायीको व्यवस्थासमेत गर्न आग्रह गरेको मल्लले बताएका थिए । कानुनले न्याय गर्छ भन्नेमा विश्वस्त भएको उनले स्पष्ट ढंगबाट उल्लेख गरेका छन् ।
करणी पुष्टि भए १० देखि १४ वर्ष जेल सजाय हुन सक्ने
सन्दीप लामिछानेको विरुद्धमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २१९ को कसुरमा उजुरी परेको छ । हाल जाहेरी मात्र परेकाले जुन आरोपका साथ जाहेरी दिइएको छ त्यहीअनुसार अदालतमा मुद्दा दर्ता हुन्छ वा फरक हुन्छ भन्ने विषयको निर्क्योल गर्न नसकिने अधिवक्ता मनीषकुमार श्रेष्ठ बताउँछन् । जाहेरीमा उल्लेख कुराहरु घटनासँग जोडिने वा नजोडिने हेर्न बाँकी रहेकाले र के अभियोगका साथ मुद्दा चल्छ ? भन्ने विषय पनि टुंगोमा नपुगेकाले कतिसम्म सजाय हुनसक्छ भन्ने स्पष्टता नभएको श्रेष्ठ बताउँछन् ।
यदि हाल जाहेरीमा उल्लेख आरोपकै आधारमा मुद्दा दर्ता भएमा र करणी गरेको पुष्टि भएमा १० देखि १४ वर्षसम्मको सजाय हुनसक्ने उनको भनाइ छ । तर घटनाको प्रकृति र तथ्यलाई आधार बनाएर मुद्दाको छानबिन गरेर अभियोगपत्र बनाइने भएकाले पहिल्यै यसलाई यतिनै भनि यकिन गर्न नसकिने अधिवक्ता श्रेष्ठले बताए । उनका अनुसार आरोपमा उल्लेख भएका सबै कुराहरुलाई प्रहरीले अनुसन्धान गरी अभियोग पत्र निर्माण गरेर मुद्दा दर्ता गरेपछि भने यसको प्रकृति र सजायको विषयमा थप स्पष्ट हुन्छ ।
सन्दीप लामिछानेको यो प्रकरणमा हामीले जनआवाज पनि लिएका छौं । जनआवाज हेर्नुस् भिडियोमा...
पदम भुजेल
