काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलविद्युत आयोजनासँग जोडिएका प्राविधिक, वित्तीय, पर्यावरणीय र प्राकृतिक प्रकोपलगायत जोखिमको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताएकी छिन् ।
काठमाडौंमा आइतबार आयोजित कार्यक्रममा मन्त्री भुसालले जलविद्युत आयोजनाहरुको दिगो विकासका लागि भरपर्दो र बलियो संरचना निर्माण गर्न, वातावरणलाई न्यून असर गर्दै प्रभावित समुदायको जीवनस्तरलाई गुणस्तरीय बनाउन सरकार लागि परेको बताइन् । मन्त्री भुसालले जनताको गुणस्तरीय जीवनका लागि आवश्यक कानुन, निर्देशिका र मापदण्डहरु तयार गरी लागु गरेको स्पष्ट पारिन् ।
जलवायु परिवर्तनको कारण अप्रत्यासित बाढी पहिरो, भूक्षयजस्ता प्राकृतिक प्रकोप, जैविक विविधतामा ह्रास लगायतका असरहरु भोग्नु परिरहेको उल्लेख गर्दै उनले दिगो रुपमा जलविद्युत आयोजनाका विकास, व्यवस्थापन र उपयोग गर्ने विषय अत्यन्त महत्वपूर्ण हुने बताइन् ।
गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउन जलविद्युत आयोजना, प्रसारण एवं वितरण लाइन तथा सब–स्टेशनहरु निर्माणमा विशेष प्राथमिकता दिइएको पनि उनले बताइन् । मन्त्री भुसालले जलविद्युतको विकासका लागि सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी क्षेत्रको लगानीलाई परिचालन गरी व्यवस्थित रूपमा आयोजना विकासलाई अघि बढाउने नीति लिइएको जानकारी दिइन् ।
