सन्दीप प्रकरणबारे आमनारिक भन्छन्- घटना नियोजित ढंगमा अघि बढेको देखिन्छ

सन्दीप प्रकरणबारे आमनारिक भन्छन्- घटना नियोजित ढंगमा अघि बढेको देखिन्छ


  • 5.6K
    SHARES
    • भाद्र ३०, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    सन्दीप प्रकरणबारे आमनारिक भन्छन्- घटना नियोजित ढंगमा अघि बढेको देखिन्छ

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध बालिका बलात्कारको आरोप लागेपछि सामाजिक सन्जालदेखि चिया पसल र चोक-चोकमा यो विषयमा बहस भइरहेको छ । बालिकाको पक्ष-विपक्षमा र नेपाली कानुनको विषयमा विभिन्नथरीका विचार व्यक्त भइरहेका छन् । 

    images

    लामिछानेमाथि एक व्यक्तिले आफ्नो १७ वर्षीया नाबालिक बहिनीलाई यही भदौ ६ गते करणी गरेको आरोपसहित प्रहरीमा जाहेरी दिएका थिए । महानगरीय प्रहरी वृत्त गौशालामा भदौ २३ गते परेको उक्त जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ बस्ने लामिछानेले बालिकालाई यही ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटेलमा लगेर करणी गरेको आरोप लामिछानेविरुद्ध  लागेको छ। आरोप लागेपछि सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ । 

    भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेलका लागि गएका उनी त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए । उनले आफू नेपाल फर्किने र कानुनी रुपमा लडाइ लड्ने बताए पनि नेपाल भने फर्किएका छैनन् । अध्यागमन विभागले समेत उनलाई कालोसूचीमा राखेको छ । योसँगै सन्दीप लामिछानेको क्रिकेट भविष्य कसरी अगाडि बढ्छ भन्ने पनि प्रश्न खडा भएको छ । नेपालमा पल शाह, सन्दीप लामिछाने प्रकरणजस्ता विषय बढ्दै गएका छन् । यसरी पल शाह र सन्दीप लामिछानेको मुद्दालाई आमनागरिकको धारणा के छ भनि तेस्रो आँखा डटकमले काठमाडौंको अनामनगर आसपास भेटिएका सर्वसाधारणको धारणा लिएको छ । 

    हुस्न मुबारक अली

    सन्दीप लामिछानेको मुद्दामा पहिलो दुईबीच सम्बन्ध हुन्छ र त्यसपछि सम्बन्धमा झगडा वा कुनै कारणले सम्बन्धमा दरार उत्पन्न भएपछि नाम चलेका मानिसहरुलाई करणीको केस हालिन्छ । मेरो विचारमा फसाउनलाई नै केस गरिएको हो । उनीहरु सँगै चिया कफी खाएर घुम्न गएर त्यसको केही महिनापछि मुद्दा हाल्नुले सुरुमा उनीहरु एक-अर्कामा मिलेका थिए । तर पछि केही कुरामा चित्त नबुझेपछि रेप केस गरेजस्तो मलाई लाग्छ । पल शाह र सन्दीप लामिछानेको दुवै केसमा यस्तो भएको जस्तो मलाई लाग्छ । 

    सुविन पाण्डे (कानुन व्यवसायी)

    यसमा कानुन पनि परिमार्जनको पनि आवश्यक्ता छ । उमेर हदको कानुनलाई पुनर्विचार गर्नुपर्ने देखिन्छ । अर्को कुरा यो घटना नियोजित तथा सुनियोजित पनि देखिन्छ । पहिले सहमतिमै सम्बन्ध राख्ने र पछि कुरा नमिलेपछि बाहिर ल्याउने प्रकरण बढ्दो छ । सन्दीपको केसमा चै सेलीब्रेटीहरुले पनि विचार पुर्याउनुपर्ने देखिन्छ । कानुन के छ र के अनुसार चल्नुपर्छ भन्ने विषयमा हामी सबैले कानुनको सामान्य ज्ञान बुझ्न आवश्यक छ ।  

    रायदेवी यादव (सिरहा)

    केही मात्रामा यस्ता घटना सत्य हुन्छन् भने केहि पैसाको लागि पनि यो गरिएको देखिन्छ । मैले बुझेकोअनुसार प्राय: धेरै केसमा यस्तो फसाउने देखिन्छ । यसको कारणले गर्दा पनि भविष्य बिग्रन्छ । यो यस्तो प्रकरण हो जसले व्यक्तिको नैतिकतामा प्रश्न उठ्छ । 

    सौरभ खड्का

    मलाई के लाग्छ भने उनीहरु दुवैले आफ्नो फाइदाका लागि लभ गरे तर सेलीब्रेटीले अरु पाइहाल्छु भनेर केटीलाई छोड्ने प्रचलन छ । तर केटीलाई उसको आवश्यक्ता रहुन्जेल मलाई प्रयोग गर्यो र अहिले आएर छोड्यो भन्ने लाग्छ । त्यहीभएर उनीहरुले १८ वर्षमुनिको कुरा उठाएर फसाउने काम गर्छन् । पल शाहले जे-जे गर्नु गरे, उनीहरुले सहमतिमै जे-जे गरे पनि केटीको सहमति बिनै छाडे त्यसपछि केटीहरुलाई आफूलाई छोडेको प्रति नराम्रो लाग्छ । सोहीअनुसार नेपालको कानुनलाई लिएर त्यसको विकल्प खोजेको जस्तो मलाई लाग्छ । 

    हरिशन्द्र रोकाया (जुम्ला)

    यो नेपालमा कानुनी शासन अलि कमजोर छ । जब मानिसहरु पदमा पुग्छन् त्यसपछि कानुनको दुरुपयोग गर्न लाग्छन् । बाटोमा मकै पोल्नेलाई मात्र कानुन लाग्ने, झारु लगाउनेलाई मात्र कानुन लाग्ने र ठुलाबडा र सेलिब्रेटीहरुलाई कानुन नलाग्ने भन्ने होइन । सबैलाई एउटै कानुन हुनुपर्छ दोषी हुन् भने जो कोहीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ । म हो भनेनी मलाई कानुन अनुसार कारबाही हुनुपर्छ । 

    दिलबहादुर रावत

    राम्रो काम गरेको भए राम्रो काम र नराम्रो काम गरेको भए नराम्रो मान्नुपर्छ । कसले के गरेको हो त्यसको अनुसन्धान हुनुपर्छ र बेइमानीलाई कडा कारबाही गर्नपर्छ । नेता वा हिरो जो भएपनि गलत काम गर्नेलाई कारबाही गर्नपर्छ । 

    हेर्नुहोस् भिडियाे :

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने
  • # बलात्कार

  • तेस्रो आँखा
    लेखकबाट थप