• ट्रेण्डिङ्ग :
सभामुख सापकोटासँग भएको सम्झौताप्रति देउवाद्वारा चिनियाँ नेता लीसँग खुसी व्यक्त

सभामुख सापकोटासँग भएको सम्झौताप्रति देउवाद्वारा चिनियाँ नेता लीसँग खुसी व्यक्त


  • 5.9K
    SHARES
    • भाद्र २८, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    सभामुख सापकोटासँग भएको सम्झौताप्रति देउवाद्वारा चिनियाँ नेता लीसँग खुसी व्यक्त

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले भेटवार्ता गरेका छन् ।

    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएकाे हाे । भेटका क्रममा प्रधानमन्त्री देउवाले नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तमा आधारित रहेको जानकारी दिँदै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । उनले नेपालको आर्थिक सामाजिक क्षेत्रमा विगत लामो समयदेखि चीनले गर्दै आएको सहयोगको प्रशंसा गरे । सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भएको सम्झौताप्रति खुसी व्यक्त गर्दै प्रधानमन्त्री देउवाले उक्त सम्झौताले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने विश्वास व्यक्त गरे ।

    सिंहदरबारमा भएको दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताका क्रममा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले दुई देशबीच छ दशकभन्दा लामो समयदेखि असल छिमेकीका रुपमा मैत्रीपूर्ण सम्बन्ध स्थापित हुँदै आएको बताए । उनले चीनमा हालै गएको भूकम्पमा नेपालले व्यक्त गरेको सहानुभूतिप्रति धन्यवाद दिए । अध्यक्ष चान्शुले सन् १९६० को दशमा तत्कालीन प्रधानमन्त्री विपी कोइराला र चिनियाँ नेतृत्वबीच भएको समझदारी, भेटघाट र भ्रमणको स्मरण पनि गरे । 

    उनले नेपालले आउँदो असोज ३ मा मनाउन लागेको नेपालको संविधान दिवसको शुभकामना पनि दिए । उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको पनि बताए । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए । 

    अध्यक्ष लीले यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको औपचारिक भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।