काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन् ।
त्यसअघि आज बिहान उनले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ । उनले भक्तपुरमा करिब एक घण्टा बिताउने छन् ।
राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ । राष्ट्रपतिलाई भेटेपछि आज पनि उनले सभामुख अग्नि सापकोटालाई भेट्ने कार्यसूची छ । ली चान्सु गत सोमबार काठमाडौं आएका थिए । सापकोटाकै निमन्त्रणामा नेपाल आएका उनले सोही दिन सापकोटासँग भेटवार्ता गरेका थिए ।
मंगलबार उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।
चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान काठमाडौंबाट दक्षिण कोरिया प्रस्थान गर्नेछ ।
