काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले डेंगु नियन्त्रणका लागि सरकारले गरिरहेको कामबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभा बुधबारको बैठकमा उनीहरुले यस्तो माग गरेका हुन् ।
सांसद प्रेम सुवालले डेंगु रोगले जनतापीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्यमन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको विचारधारा अपनाएको भएपनि त्यसलाई जनजीवनमा कार्यान्वयन गर्न कुनै काम नगरेको आरोप लगाएका छन् ।
सांसद खगराज अधिरारीले गुठीको समस्या समाधान गर्न हालै सरकारले अघि बढाएको गुठी विधेयकले कसरी समस्या समाधान गर्न सक्छ भनी सरकारसँग जवाफ माग गरे । उनले अघिल्लो सरकारले मुलुकभर १६५ निर्वाचन क्षेत्रमा अघि बढाएका सडक आयोजनाका लागि वर्तमान सरकारले बजेट निकासा नगरेको आरोपसमेत लगाए ।
सांसद डा. सूर्य पाठकले दोस्रो विश्व युद्धताका बर्मा, थाइल्यान्ड, मलेसियालगायत विभिन्न मुलुक पुगेका थातथलो नेपालमै भएका नेपालीहरु (पिपुल्स अफ ओरिजिन नेपाल) लाई गैरआवासीय नेपालीलाई प्रदान गरिने जस्तै परिचयपत्र प्रदान गर्न सुझाव दिए । सांसद हितबहादुर तामाङले संविधानअनुसार सबै जातजाति, भाषाभाषीले आफ्नो भाषा प्रयोग गर्न पाउने गरी व्यवस्था गर्न सरकारसँग माग गरे ।
