काठमाडौं । नेपाली कांग्रेसले कांग्रेसले गएको स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको उम्मेद्वार बन्न नपाउने मापदण्ड बनाएको छ ।
आज बुधबार बसेको संसदीय समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरुका लागि चार वटा मापदण्ड तय गरेको हो ।
०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उमेदवार हुन नपाउने तर उनीहरू प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेद्वार हुन सक्ने बताइएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेद्वारको मनोनयन दर्ताको लागि आयोगले असोज २३ गतेलाई तोकेको छ ।
यी हुन् मापदण्ड ?
१. हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्ति प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको उम्मेदवार बन्न नपाउने ।
२.२०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उमेदवार हुन पाउने छैन । नेपाली कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा पार्टीको तर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनः प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य पदमा पार्टीको तर्फबाट उमेदवार हुन नपाउने व्यवस्था छ । अतः यस अघि प्रतिनिधि सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रदेश सभामा र प्रदेश सभामा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्ति प्रतिनिधि सभामा समेत समानुपातिकतर्फबाट उमेदवार हुन पाउने छैन । तर प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ उमेदवार हुन सक्नेछन् ।
३. उम्मेद्वार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उमेदवारको लागि भएको सिफारिश, व्यक्तिको योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोनलमा पुर्याएको योगदान, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदानको साथै पार्टीलाई लोकप्रिय मत थप गर्न सक्ने आधारलाई समेत विशेष ध्यान दिइनेछ ।
४. नेपाली कांग्रेसको विधानको धारा ३३ (३) मा उल्लेखित आधारलाई ध्यान दिंदै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्र दुबैमा समानुपातिक तर्फको उमेदवारको निर्णय गर्दा सम्बन्धित प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक जना उमेदवार दिने । उमेदवार छनौट गर्दा संविधानको धारा ८४ र धारा १७६ तथा संघीय कानूनले निर्दिष्ट गरेको जातीय, लैगिक समावेशिताका साथ भौगोलिक तथा प्रादेशिक सन्तुलन, उमेर समूहको सन्तुलनको समेत ख्याल गरिनेछ ।
