काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण समेत अध्ययन गर्ने भएको छ ।
समितिले न्याय परिषद्मा राणाले बुझाएको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरणले हालसम्म गरेको अनुसन्धानको फाइलका साथै परिवारको सम्पत्ति विवरण समेत मगाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले बताए।
विहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट उनको परिवारका सदस्य र नातेदारमाथिको छानबिनको फाइल मगाउने निर्णय गरेको हो ।
नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले शुरुमा राणाको सम्पत्ति विवरण अब अध्ययन गर्नुपर्ने प्रश्न उठाएका थिए। उनको प्रस्तावपछि समिति सभापति रामबहादुर विष्टले सचिवलाई यी विवरणहरु मगाउन पत्र लेख्नु भनी निर्देशन गरेका थिए। समितिको निर्देशन अनुसार पत्र तयार भएर भोलि बिहानै पठाएर विवरण झिकाउने सचिव गौतमले बताए। ‘उनीहरुको परिवारको सदस्यको सम्पत्ति विवरण र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको फाइल तत्काल मगाउनुपर्छ, मैले यसबारेमा पटकपटक भनेको छु’ पोखरेलले भने, ‘अरु महत्वपूर्ण फाइलहरु समेत मगाउनुपर्छ ।’
समिति सचिवालयले शुक्रबार बिहानै न्याय परिषद र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट फाइलहरु मगाउन चिठी लेख्ने र भोली नै ल्याएर अध्ययनसहित जबरासँग प्रतिप्रश्न गर्ने तयारी समितिले गरेको छ। समितिले वीरगञ्जको छपकैया पोखरीको विवादमा भएको आदेश र फैसला समेत अध्ययन गर्ने निर्णय गरेको छ।
सर्वोच्चको भवन पनि विस्तृत अध्ययन गर्नुपर्ने प्रस्ताव त्यस्तै समितिमा सांसदहरुले सर्वोच्च अदालतको भवनमा १ अर्बभन्दा धेरै घोटाला भएको कुरा आएकाले त्यसको पनि कागजात मगाएर अध्ययन गनुपर्ने कुरा उठाएका थिए।
त्यस्तै वरिष्ठ अधिवक्ताहरुले बयानका क्रममा रुद्र पोखरेलको अडियोमा राणाको नाम पटकपटक आएको र घुस लिएको स्वीकार गर्न प्रधानन्यायाधीशको नाम लिइएको बारे अध्ययन गर्नुपर्ने माग गरेका थिए।
त्यस्तै राणासँग जोडिएका अन्य धेरै कुरा थपिएकाले समितिले अध्ययन गर्नुपर्ने कुरा बिहीबारको समितिमा उठेको र शुक्रबार बिहान पनि छलफल हुने एक सदस्यले बताए।
