काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्वसदस्य विजयराज घिमिरेको उपचारका क्रममा निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा बिहीबार राति सवा ८ बजे उनको निधन भएको हो ।
पाल्पाका पूर्वमहासमिति सदस्यसमेत रहेका घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा पार्टीका तर्फबाट उम्मेद्वार रहेका थिए ।
२०२५ सालमा जन्मिएका घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कांग्रेसका मुख्य-सचिव कृष्णप्रसाद पौडेलका अनुसार उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिनेछ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
