काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर एम्बुलेन्स सेवा लिन सक्ने बताएका छन् । महानगरका बासिन्दालाई महानगरले नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
मेयर शाहका अनुसार डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन् । साथै महानगरले डेंगुको रोकथाम र नियन्त्रणमा टोलटोल वा सामुदायिक रूपमै सक्रिय भएर लाग्न पनि उनले समाजिक सन्जालमार्फत आग्रह गरेका छन् ।
मेयर शाहले समुदायमा डेंगु फैलिएकाले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि जनाएका छन् । उनले डेंगु रोकथामका लागि महानगरले थप कार्यक्रम पनि विस्तार गर्दै स्रोत र जनशक्तिको प्रयोग गर्दै जाने बताएका छन् ।

