बेलायतको शाही परिवारमा अनौठो तर मौलिक परम्परा
राष्ट्रप्रमुखको मृत्युको खबर मौरीलाई किन सुनाइयो ? समाधिमाथि भाँचिएको सेतो छडी !

राष्ट्रप्रमुखको मृत्युको खबर मौरीलाई किन सुनाइयो ? समाधिमाथि भाँचिएको सेतो छडी !


बेलायतको शाही परिवारमा मौलिक चलन

  • 4.4K
    SHARES
    • भाद्र ३१, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 6.7K Views

    राष्ट्रप्रमुखको मृत्युको खबर मौरीलाई किन सुनाइयो ? समाधिमाथि भाँचिएको सेतो छडी !

    लन्डन । बेलायतमा मौरीलाई राष्ट्रप्रमुखको मृत्युको दुःखद खबर सुनाउने अनौठो परम्परा छ । यहाँ यसका साथै अन्य अनौठा चलन अझै कायम छन् । महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा चार्ल्स तृतीयको राज्यारोहणले बेलायतको राजपरिवारमा हुने भिन्न खालका चलन धेरै पुस्तापछि पुन: उजागर गरेको छ ।
    तर तीमध्ये कतिपय चलन राजपरिवारको मामिलामा आफूलाई जानकार ठान्नेहरूलाई पनि छक्क पार्ने खालका छन् । 

    images

    महारानीको निधनको समाचार सञ्चारमाध्यम र सामाजिक सन्जालमा धेरै नै आए पनि निश्चित ठाउँमा भने यो समाचार छुट्टै रूपमा सुनाउनुपर्ने नियम छ । त्यो समाचार उनले पालेका मौरीहरूलाई सुनाउनु हो । जोन च्यापल १५ वर्षदेखि दरबारमा मौरीपालकका रूपमा काम गर्दै आएका छन् ।उनले बकिङ्‌घम प्यालेस र प्रिन्स अफ वेल्सको निवास आसपासको चौरमा पालिएका मौरीको घारलाई यो दु:खद सूचना दिएर शताब्दी पुरानो उक्त चलनलाई यसपटक निरन्तरता दिएका छन् । 

    डेली मेलसँगको अन्तर्वार्तामा च्यापलले मौरीहरूलाई आफूले नयाँ राजालाई राम्रो गर्न पनि भनेको बताएका छन् । सत्तामा आएको परिवर्तनबारे जानकारी नगराए मौरीहरूले मह बनाउन छोड्छन् भन्ने अन्धविश्वाससँग यो चलन जोडिएको छ । 'निधन भएकी व्यक्ति घारकी मालिक हुन् । उनीहरूका लागि रानीको निधन मात्र होइन उनीहरूको परिवारको महत्त्वपूर्ण व्यक्तिको निधन पनि हो । त्यो महत्त्वपूर्ण हुँदैन र ?' मौरीको हेरचाह गर्ने च्यापल भन्छन्, 'हरेक घारमा ढकढक्याएर तिमीहरूकी मालिकको निधन भएको छ, तर तिमीहरू कतै नजाऊ । नयाँ मालिक तिमीहरूका लागि राम्रो मालिक हुनेछन् भन्ने खबर सुनाइन्छ ।'

    यता राजा चार्ल्स तृतीयले लिने धेरै निर्णयमध्ये एउटा उनको व्यक्तिगत कुरासँग सम्बन्धित छ । त्यो भनेको उनको जन्मोत्सव हो । महारानी एलिजाबेथ द्वितीयका दुईवटा जन्मदिन थिए । उनी अप्रिल २१ मा जन्मिएकी थिइन् । तर दिवंगत महारानीको आधिकारिक जन्मोत्सवचाहिँ जुनको दोस्रो शनिबार 'ट्रूपिङ द कलर' परेडसहित मनाइने गरेको थियो । बेलायतमा बाहिरी कार्यक्रम गर्न अप्रिलमा जाडो हुने गर्छ । जुन महिनापछि गर्मीयाम सुरु हुन्छ । यो परम्पराचाहिँ निकै पुरानो हो । सन् १७४८ मा जर्ज द्वितीयले यो चलनको थालनी गरे । उनले त्यसअघिबाटै मनाइने गरेको परेडसँगै आफ्नो जन्मोत्सव पनि मनाउने निर्णय गरे ।

    चार्ल्स तृतीयले पनि यही परम्परा कायम राख्लान् ? यसबारे अहिलेसम्म सार्वजनिक रुपमा सूचना बाहिरिएको छैन । तर यहाँ विचार गर्नुपर्ने कुरा के छ भने नयाँ राजा नोभेम्बरमा जन्मिएका हुन् । यो महिना भनेको घाम र न्यानो दुर्लभ हुने महिना हो । ‘नयाँ राजाले जे प्रचलन छ त्यसलाई नै निरन्तरता दिने मेरो ठोकुवा छ । उनी शरद्ऋतुमा जन्मिएका हुन् र 'ट्रूपिङ द कलर' निकै लोकप्रिय छ,’ शाही इतिहासविद् रिचर्ड फिट्ज्विलियम्सले बीबीसीसँग भने । उनी महारानी एलिजाबेथ द्वितीयाको राज्यारोहण सन् १९५३ को जुनमा मात्रै भएको उदाहरण दिँदै ब्रिटेनको अर्को परम्परा मौसम पूर्वानुमानमा कठिनाइका कारण पनि प्रभावित हुनसक्ने बताउँछन् । ‘त्यस दिनको मौसम भयानक थियो,’ उनी भन्छन्, ‘रानी र राजाहरूले पनि मौसम वशमा राख्न सकेनन् ।’

    सन् १९०१ यता राजपरिवारका सदस्यको अन्तिम संस्कारमा जलसैनिकहरूले डोरीको सहायताले बग्गीमा राखिएको शवपेटिका तान्ने गरेका छन् । बग्गी तान्न घोडाको साटो मानिसहरूको छनोट आफैँमा अनौठो छ । तर महारानी भिक्टोरियाको अन्तिम संस्कारमा सुरु भएको यो चलन यहाँको परम्परा हो । उक्त समारोहसम्म देशका प्रमुखको शवपेटिका रहेको बग्गी घोडाले तान्नु साधारण मानिन्थ्यो । तर घोडाहरू अचानक अनियन्त्रित भएपछि समारोहमा त्रास उत्पन्न भएको थियो । ‘त्यो अत्यन्त चिसो दिन थियो र घोडाहरूको प्रतिक्रिया राम्रो थिएन । परिणामस्वरूप महारानी भिक्टोरियाको शवपेटिका झन्डै खसेको थियो,’ शाही इतिहासकार केली स्वाबले बीबीसीसँग भनिन् ।

    महारानी भिक्टोरियाको शवयात्रामा बग्गी ताान्न जलसैनिकहरू अघि सरेका थिए । भिक्टोरियाका उत्तराधिकारी राजा एड्वर्ड चतुर्थको आदेशमा अन्तिम संस्कारका सहभागी जलसैनिकहरू अघि बढेर स्थिति सम्हाले । ‘त्यहाँ विश्वभरिका प्रतिष्ठित व्यक्तिहरू थिए । निकै लज्जाको विषय हुनसक्थ्यो,’ स्वाब भन्छिन्, ‘यही असहज परिस्थितिबाट नयाँ राजपरम्पराको थालनी भयो ।’ सन् १९५२ मा राजा जर्ज चतुर्थको अन्तिम संस्कार हुँदा १३८ जना बग्गी तान्ने काममा खटिएका थिए ।

    छडी भाँच्ने परम्परा
    राजपरिवारमा बाहिर देखिने समारोहबाहेक अन्य क्रियाकलापबारे कमैले मात्र सुनेका छन् । लर्ड चेम्बरलेनको उपाधिले चिनिने राजपरिवारको कार्यालयका सबैभन्दा वरिष्ठ अधिकारीको प्रत्येक वर्ष राष्ट्रप्रमुखलाई संसद् भ्रमणमा लैजानेबाहेक अर्को पनि एउटा जिम्मेवारी दिइएको हुन्छ । त्यो भनेको बेलायतका राजा वा महारानीको समाधिमाथि सेतो छडी भाँचेर उनीहरूका लागि आफ्नो सेवा समाप्त भएको जानकारी दिनु ।

    पूर्वगुप्तचर प्रमुख एन्ड्रू पार्करले सेतो छडी भाँच्ने परम्परालाई निरन्तरता दिनेछन् । अहिले एन्ड्रू पार्कर लर्ड चेम्बरलेनको भूमिकामा छन् । बेलायतका गुप्तचर निकायका पूर्वप्रमुख सन् २०२१ मा यो पदमा नियुक्त भएका थिए । अन्तिम संस्कार समारोहमा गरिँदै आएको औपचारिकता निकै शताब्दी पुरानो हो । दिवंगत महारानीका बुबा जर्ज चतुर्थको ७० वर्षअघि निधन हुँदा पनि यसरी सेतो छडी भाँचिएको थियो ।

    इतिहासकार फिट्ज्विलियम्स यस्तो चलनले बेलायतको राजतन्त्रलाई आफ्नै आकर्षण दिएको बताउँछन् । ‘किनभने बेलायतको राजपरिवारमा रहेका यस्ता चलनहरू साँच्चिकै मौलिक छन्,’ उनी भन्छन् ।

    -बीबीसीका लागि फर्नान्डो डुआर्टीको रिपोर्ट