काठमाडौं। मिटरब्याज पीडितले सरकारसँग शनिबार भएको पाँचबुँदै सहमतिबारे आज सार्वजनिक गर्दैछन् । सरकारसँग शनिबार भएको पाँचबुँदे सहमति सार्वजनिक गर्न विहान १० बजे माइतीघर मण्डलमा पत्रकारलाई बोलाइएको मिटरब्याज पीडित संघर्ष समितिका उपाध्यक्ष उमाशंकर लोनियाले तेस्राे आँखालाई जानकारी दिएका छन् । गृहमन्त्रालयसँग भएको सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । तर माग पूरा नभए फेरि माइतीघर मण्डलमै आएर आन्दोलन गर्ने उपाध्यक्ष लोनियाले बताए ।
गृहमन्त्री बालकृष्ण खाणको समुपस्थितिमा गृहमन्त्रालयमा भएको वार्तामा पाँचबुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भुसाल तथा संघर्ष समितिका तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।
मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्युभएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउनेलगायत सहमति भएको छ ।
त्यस्तै, ऋणीले साँवाब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा इच्छ्याएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मतरुपले हुन आउने साँवाब्याज पुरै चुक्ता गर्दा र गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले फिर्ता गर्नेसम्मको कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।
संघर्ष समितिले राखेका मागहरुका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि अन्तर निकाय समन्वयगरी मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।
