काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान संसद् नै परमादेशबाट आएको भन्दै परमादेशले संविधान र गणतन्त्र जोगाइदिएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले परमादेशकै कारण संसद बचाउन सकेको र सँगै बसेर काम गर्न पाएको टिप्पणी गरे ।
दुई पटक प्रतिनिधिसभा विघटन गरेका निवर्तमान प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई परमादेशको सरकार भन्दै आइरहेका छन् ।
‘हुनत हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुन्छ, यो संसद नै परमादेशबाट आएको हो, जहाँ उहाँ र हामी सँगै काम गर्न पाइरहेका छौं’ प्रधानमन्त्री देउवाले भने, ‘परमादेश नभएको भए उहाँ रु हामी सँगसँगै काम गर्न नै पाउँदैनथ्यौं, धेरै ठूलाठूला विधेयकहरु पास गर्न नै पाउँदैनथ्यौं ।’
प्रधानमन्त्री देउवाले परमादेशकै कारण भेट गर्ने मौका पाएको टिप्पणी गरे । ‘त्यसकारण परमादेशले हामीलाई भेट गर्ने मौका दियो । यसका लागि न्यायालयले न्याय गरेको मैले महसुस गरेको छु ।’
अन्तिम संसद् बैठकमा दलीय आधारमा पहिलो वक्ताका रूपमा बोलेका देउवाले ओलीले वर्तमान सरकारलाई ‘परमादेशी’ भन्ने गरेको भन्दै जवाफ दिएका थिए ।
“हुन त हाम्रो प्रतिपक्षी दलका नेताले परमादेशको सरकार भनेर भन्नुहुन्छ जहिल्यै, मलाई थाहा छ । यो संसद् नै परमादेशबाट आएको हो । त्यसकारण उहाँ र हामीसँगै काम गर्न पाइरहेका छौँ,” ओलीतर्फ संकेत गर्दै उनले भने, “परमादेश नभएको भए उहाँ र हामीसँगसँगै बसेर काम गर्न पाउँदैनथ्यौँ । धेरै ठूला–ठूला विधेयकहरू पास गर्न सकिँदैनथ्यो । परमादेशले हामीलाई भेट गर्ने मौका दिएको छ । यसको लागि न्यायालयले पनि न्याय गरेको मैले महसुस गरेको छु ।”
