भाँडिएको ‘कोइराला–घर’

भाँडिएको ‘कोइराला–घर’


  • 8.6K
    SHARES
    • मंसिर २७, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 13.3K Views

    भाँडिएको ‘कोइराला–घर’

    किरण बिक्रम शाह/तेस्रो आँखा
    काठमाडौँ, मंसिर २७ ।  विक्रम संवत २०७५ मा नेपाली कांग्रेसका कोइराला नेतात्रय डा. शेखर, डा. शशांक र सुजाता एउटै मालामा गाँसिए । विराटनगरमा आयोजित एउटा कार्यक्रममा एउटै माला लगाएका उनीहरूको सन्देश एउटै थियो— हामी कोइराला एक छौं । त्यसो त, कांग्रेसको स्थापनाकर्ता बीपीदेखि कांग्रेसमा ‘कोइराला–वर्चश्व’ गिरिजा, सुशीलपछि धर्मराउने होकि भन्ने शंशय कोइराला पक्षभित्र थियो नै ।

    images

    नेतात्रय डा. शेखर, डा. शशांक र सुजाता एउटै परिवार (कृष्णप्रसाद–घराना) का सदस्य रहेकाले पनि उनीहरूलाई त्यो बिरासत ‘डगमग’ हुन नदिने चुनौती थियो । फलतः तीन दाजु–बहिनी एउटै माला लगाएर पारिवारिक एकताको सन्देश दिनमात्रै होइन, कांग्रेसमा कोइराला–बिरासतको ‘शक्ति’ कायमै छ भन्ने देखाउन खोजिरहेका थिए । 
    त्यसपछि पनि उनीहरूका पटक–पटकका छलफलपछिको ‘कबुल’ ले पनि यही सन्देश दिइरहेको थियो ‘कोइरालाको बिरासत कांग्रेसभित्र डगमगाएको छैन ।’ तर, यी तीन कोइरालाको त्यो ‘कबुल’ अन्ततः भत्कियो ।

    सुजाता आफ्ना परिवारका सदस्यसँगै टाढिने निर्णयमा पुगिन् । गणेशमान सिंह पुत्र प्रकाशमानसँग कांग्रेस राजनीतिमा सहकार्य गर्ने उनको निर्णयले कोइराला परिवार भाडिएनमात्रै सिंगो कांग्रेस राजनीतिमा कोइरालाको ‘बिरासत’ डगमगाएको छ नै । उनले सभापति पदका उम्मेदवार प्रकाशमान सिंहसँग मिलेर उपसभापति पदमा उम्मेदवारी दिएकी छिन्, जबकि २०७५ मा विराटनगरमा एउटै माला लगाएका एक कोइराला डा. शेखर सभापति पदको उम्मेदवार बनेका छन् । सुजाताबाहेक डा. शेखर र डा. शशांक भने एउटै समूहमा छन् । उचो पदको आशा राख्ने सुजाताभित्र सुशील कोइरालाको निधनपछि स्वाभाविकै रूपमा कोइराला खेमाको नेता आफू हुने ‘ख्वाब’ जागिहेको थियो । पटक–पटकका कार्यक्रममा आफूलाई कांग्रेस सभापतिको उम्मेदवारका रूपमा उभ्याउँदा उनी कोइराला परिवारको मात्रै होइन, संस्थापन इतरको प्रमुख नेता बन्न खोजेको चेष्टालाई प्रष्ट पारिरहेकै थियो । गिरिजाप्रसाद कोइराला पुत्री सुजाताभित्र पारिवारिक बिरासतका आधारमा पनि आफू ‘नेता’ बन्ने तर्क उठिरहेको थियो । 

    तर, पार्टीको महामन्त्री पदमा आसिन डा. शशांक कोइराला पदका आधारमा सुजाताभन्दा धेरैमाथि उक्लिइसकेका थिए । महामन्त्री भइसकेका कारण पनि उनी सभापतिको प्रमुख दाबेदार हुनु स्वाभाविकै थियो । तर, सुजाताका लागि डा. शशांकको यो अभिलाषा ‘पाच्य’ नबनेको हुनसक्ने लख काट्न सहजै सकिन्छ । लामो समयदेखि वर्तमान सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर बनेको भनेर आलोचना गरिरहेका अर्का कोइराला डा. शेखर सभापतिका आकांक्षी थिए नै । महाधिवेशनको पूर्वसन्ध्यामा पनि सभापतिको बलियो दाबेदारका रूपमा उनै दुई कोइराला डा. शशांक र डा. शेखर प्रस्तुत भए ।

    बेलाबेलामा आफूलाई सभापतिको उम्मेदवार प्रस्तुत गरिरहेकी सुजाता भने सभापतिको सम्भावित सूचीमा अटाउन सकिनन् । यसकै आवेगमा उनले सभापतिमोह त्यागिन् तर प्रकाशमान सिंहलाई सहयोग गर्ने भनेर पुरानो ‘क्याम्प’ बाट बाहिर निस्किइन् । उपसभापतिमा उम्मेदवारी दर्ता गर्ने क्रममा उनले दिएको अभिव्यक्तिले पनि उनी कोइरालाहरूदेखि नै असन्तुष्ट रहेको आशंका गर्न सकिन्छ । उनले भनिन्– ‘कोइराला परिवारमात्रै भनेर पनि के गर्नु ?, जहाँ चेलीको सम्मान हुँदैन भने ।’
    उनको यो अभिव्यक्तिले पनि उनको उपसभापति पदको उम्मेदवारी ‘कुण्ठा’ बाट सिर्जित निर्णय हो भन्ने बुझ्न सकिन्छ । आफूमाथि अन्याय भएको भनेर प्रकाशमान सिंहसँग राजनीतिक सहकार्य गर्ने निर्णयमा पुगेकी सुजाता चुनाव जितेर आफूलाई ‘अब्बल कोइराला’ सावित गर्ने दाउमा छिन् ।

    कांग्रेसवृत्तमा कोइरालाको एकल बिरासत लामो कालखण्डसम्म रह्यो । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत त्यो बेलाका फरकधारका नेतासँगै अहिलेका सभापति शेरबहादुर देउवा पनि कोइराला बिरासत तोड्न असफल भइरहेका थिए । तर, सुशील कोइरालाको निधनपछि डगमगाएको यो बिरासत सुजाताको पछिल्लो निर्णयले देउवा पक्षलाई ठूलो बल मिलेको छ ।


    तेस्रो आँखा