• ट्रेण्डिङ्ग :
बिहानसम्म चल्यो बन्दसूची दर्ता, छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्ने

बिहानसम्म चल्यो बन्दसूची दर्ता, छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्ने


  • 3.3K
    SHARES
    • आश्विन ४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 5.1K Views

    बिहानसम्म चल्यो बन्दसूची दर्ता, छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्ने

    काठमाडौं । निर्वाचन आयोगले  मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ ।  बिहान ५ बजेसम्म बन्दसूची दर्ताको काम भएको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताए ।

    images

    ५ बजेसम्म प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ ४८ दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आइतबार र सोमबार दलहरुलाई आयोगले बन्दसूची पेस गर्न समय दिएको थियो । पहिलो दिन ४ वटा दलले मात्र बन्दसूची दर्ता गरेका थिए । अरु ४४ दलले हिजो दोश्रो दिन बुझाउन निर्वाचन आयोग पुगेका थिए ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले  समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए । 

    प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, वाग्मती प्रदेशमा ४१ दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

    आयोगले आजदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ । छानबिन प्रक्रिया असोज ९ गतेसम्म चल्नेछ । मिश्रित निर्वाचन प्रणालीअनुसार प्रदेश र प्रतिनिधि सभामा ४० प्रतिशत सदस्य समानुपातिक प्रणालीमार्फत आउँछन् । यसअनुसार प्रतिनिधि सभामा एक सय १० र प्रदेश सभामा दुई सय २० सांसद समानुपातिकबाट छानिन्छन् ।

    छानबिनका क्रममा बन्दसूचीमा कमजोरी भएमा सच्याउन समय तोकिएको छ । आयोगबाट जानकारी पाएपछि १० देखि १६ सम्म बन्दसूची संशोधन गरी बुझाइसक्नुपर्ने निर्वाचन कार्यक्रम छ ।

     दलले बुझाएको विवरणमा समूह फरक परेको, उम्मेदवारको स्वघोषणा नभएको, नागरिकता, मतदाता परिचयपत्र नरहेको भए संशोधन गरेर ल्याउन समय दिइने समानुपातिक निर्वाचन प्रणाली मुख्य  कार्यालयका प्रवक्ता वाग्लेले बताए।


    तेस्रो आँखा