काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको मंगलबार १५ दिन भएको छ ।
संवैधानिक प्रावधानअनुसार राष्ट्रपति भण्डारीले मंगलबार रातिसम्ममा उक्त विधेयकलाई प्रमाणीकरण गर्नुपर्ने हुन्छ । उनले विधेयकमा लालमोहर नलगाए उक्त विधेयक स्वतः निस्क्रिय हुनेछ ।
हिजो (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति भण्डारीबीच भएको भेटमा विधेयक प्रमाणीकरणको विषयमा छलफल भएको थियो । तर, राष्ट्रपति भण्डारीबाट सकारात्मक प्रतिक्रिया नआएको स्रोतको दाबी छ ।
यता, राष्ट्रपति कार्यालयले भने राष्ट्रपतिको भूमिकालाई जोडेर प्रकाशित समाचार तथा टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रपति कार्यालय र राष्ट्रपति भण्डारीलाई जोडेर भ्रामक समाचार प्रकाशन भइरहेको राष्ट्रपति कार्यालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
