काठमाडौं । प्रतिनिधिसभाको सिट बाँडफाँडका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए ।
सोमबार बन्दसूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार बिहान र साँझ सिट बाँडफाँडबारे छलफल गरेका छन् । बैठकमा सहभागी एक नेता भन्छन्, ‘द्विपक्षीय रुपमा छलफल गर्ने काम चलिरहेको छ । भोलिसम्म सहमति गर्ने भन्ने भएको छ ।’
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधिसभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् । यसअघि समस्या भएका धेरै स्थानमा सहमति जुटिसकेका ती नेताले बताए ।
तर, कहाँ-कहाँको गाँठो फुक्यो भन्ने प्रश्नमा उनले हतार नगर्न आग्रह गरे, ‘अहिले नै हतार नगर्नुस् न सबै कुरा हामी सार्वजनिक गरिहाल्छौँ नि ।’
मंगलबारको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बुधबार बिहानैबाट पुनः छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको जानकारी दिए ।
