काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इतिहासमा ढिलो प्राप्त लोकतन्त्रको डुंगालाई सबैले मौका मिल्नासाथ प्वाल पार्नु चिन्ताजनक रहेको बताएका छन् । ‘राष्ट्रपतिले संसदबाट २–२ चोटी पारित विधेयक प्रमाणीकरण गर्न आलटाल गर्नु, प्रधानन्यायाधीश महाभियोगमा पर्नु, दलहरू आसेपासे पोस्न लाग्नु, बैंक ब्याज बढाउनतिर लाग्नु आदि गम्भीर छन्,’ ट्वीट गर्दै उनले भनेका छन्, ‘सबै जिम्मेवार बनौं ।’
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ को विधेयक प्रमाणीकरण नगरिदिएपछि निष्क्रिय बनेको छ । दोस्रो पटक संसदबाट पारित भएर २० भदौमा शितल निवास पुगेको विधेयक भण्डारीले होल्ड गरेर राखेकी थिइन् । तर, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिले पाएको समयसीमा मंगलबार मध्यरातिदेखि सकिएको हो ।
