काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकूल भएको बताएका छन् । बुधवार बिहान ट्वीटमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संरक्षकको भूमिका निभाएको बताउँदै नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वाभाविक र राष्ट्रहित अनुकूल भएको तर्फ दिएका हुन् ।
‘प्रादेशिक पहिचानसहितको नागरिकता,महिलाहरूको लैंगिक हकको कार्यान्वयन,वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा संविधानअनुकूल संशोधन नगरिएको नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निर्णय स्वभाविक छ। राष्ट्रपतिको निर्णय राष्ट्रहित अनुकुल छ। संविधान संरक्षकको जिम्मेवारी निर्वाह भएको छ,’ उनले लेखेका छन्, ‘राजनीतिक स्वार्थ परिपुर्तिका लागि संविधान र राष्ट्रहितलाई तिलांजलि दिने प्रयास असफल भएको छ।राजनीतिकरुपमा विवादमा पर्ला,तर राष्ट्रपति विद्या भण्डारीको यो निर्णय इतिहासले प्रशंसा गर्नेछ। राजा बीरेन्द्रले समेत राष्ट्रहित विपरितको नागरिकता विधेयकमा लालमोहर लगाउन अस्वीकार गरेको विदितै छ ।’
