काठमाडौं । मासु तथा मासुजन्य पदार्थको खपतको आधारमा नेपाल विश्वकै अग्र स्थानमा पर्छ । एकजना नेपालीले औसतमा वार्षिक १८ केजी मासु खाने गरेको तथ्यांक हामीमाझ छ ।
नेपालमा वार्षिक ३ लाख ८१ हजार टन मासु उत्पादन हुने गरेको छ । तर त्यसले नपुगेर २ लाख टनभन्दा बढी मासु तथा मासुजन्य पदार्थ भारतलगायत विभिन्न देशबाट आयात हुने गरेको छ ।
बजार र सम्भावना दुवै भए पनि नेपालीहरू भने अस्वस्थकर मासु खान बाध्य छन् । राजधानी काठमाडौंलगायत प्रमुख सहरमा मासुजन्य पदार्थको बिक्रिमा अझै नयाँ प्रविधिको प्रयोग हुन सकेको छैन । यसै अवस्थामा अस्ट्रेलियामा फुड हाइजिन तथा बुचरी कोर्स गरेर नेपाल फर्केका विजय कँडेलले मासु व्यवसायमा छुट्टै पहिचान बनाउन सफल भएका छन् । अध्ययनका लागि अस्ट्रेलिया पुगेका कँडेल व्यवसाय गर्ने सोच लिएर एक दशकअघि नेपाल फर्किएका हुन् ।
अस्ट्रेलियामा सिकेको सीप प्रयोग गरी सानो लगानीमा काठमाडौंमा सञ्चालन गरेको व्यवसाय अहिले उपत्यकाबाहिर पनि विस्तार गरेको कँडेल बताउँछन् ।
उनले काठमाडौंका चपली, मण्डिखाटार, बालुवाटार, शान्तिनगर र चितवनको नारायगढमा हाइजेनिक मिट सेन्टरका आउलेट सञ्चालन गरेका छन् । साथै कँडेलको बूढानीलकण्ठ नगरपालिका २, चपलीमा मासुजन्य कम्पनी हाइजेनिक फुड्स प्रालिसमेत सञ्चालनमा छ ।
दशकअघि काठमाडौंको मैतिदेवीबाट खसी तथा कुखुराको मासु बेचेर कारोबार थालेको हाइजेनिक मिट सेन्टरका विभिन्न आउटलेटबाट हाल दैनिक हजार किलोभन्दा बढी मासु बिक्री हुने गरेको छ । नेपाल देश कृषिप्रधान भए पनि उत्पादनलाई जोड नदिँदा अर्बौंको मासु विदेशबाट आयात गर्नु परेको कँडेल बताउँछन् ।
देशभित्र उत्पादित सामग्रीले उचित बजारमुल्य नपाएका कारण कृषकहरूले विकल्प खोज्न थालेका छन् । उनका अनुसार कृषिमा आधुनिकीकरण, उत्पादनमा सुधार र व्यवस्थित रूपमा बिक्री गर्न सके मासु आयातमा निर्भरता घटाउन सकिन्छ ।
आफ्नो व्यवसायमा ७३ जनालाई रोजगारी दिएका कँडेल व्यावसायिक जीवनमा स्थापित भएसँगै देश र जनताको सेवाका लागि राजनीतिमा होमिएका छन् । उद्यमशीलतासँगै स्थानीय स्तरबाटै रोजगारी सिर्जना गर्न सके विदेश भासिने युवा जनशक्तिलाई परिचालन गर्न सकिने अठोटका साथ राजनीतिमा प्रवेश गरेको कँडेल बताउँछन् । त्यसका लागि मंसिर ४ गते हुने संसदीय चुनावमा कँडेलले स्वतन्त्र रूपमा उम्मेदवारी घोषणासमेत गरेका हुन् ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
