काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेपछि राजनीतिक दलहरु दुई कित्तामा विभाजित भएका छन् ।
विधेयक प्रमाणिकरण नभएपछि उत्पन्न विवादलाई मध्यनजर गर्दै विभिन्न दलका नेताहरुले फरक फरक धारणा व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संसदले पठाएको विधेयक राष्ट्रपतिले पहिलो पटक फिर्ता पठाउन मिल्ने भए पनि दोस्रो पटक प्रमाणिकरण गर्नुको विकल्प नहुँदा पनि रोकेर असवैधानिक काम गरेको आरोप लगाए ।
विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानमाथि कू गरेको यादवको आरोप छ । राष्ट्रपतिले संविधान र व्यवस्थालाई नै उल्ट्याउन खोजेकोसमेत आरोप लगाए । अहिलेको व्यवस्था असफल बनाएर अर्को कुन व्यवस्था ल्याउन खोजेको हो भनेर यादवले प्रश्न गरे ।
तर कुनै पनि हालतमा यो व्यवस्था उल्ट्याउन नसक्ने पनि यादवको भनाई छ । संविधानविपरितको काम गरेकाले राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने मागसमेत यादवले गरे ।
राष्ट्रपतिले देशलाई मुठभेडतर्फ लगेर चुनावसमेत रोक्ने षडयन्त्र गरेको यादवको भनाई छ । गठबन्धनका कारण एमालेले चुनाव हार्ने अवस्था भएकाले चुनाव नै बिथोल्ने षडयन्त्रमा राष्ट्रपति लागेको उनको तर्क छ ।
नेकपा एमालेका नेता तथा पूर्व कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले राष्ट्रपतिले सदनबाट पहिलोपटक पारित भएर पठाएपछि संविधानको अधिकार प्रयोग गर्दै सुझाबसहित फिर्ता पठाए पनि कुनै संशोधन नगरिएकाले अहिलेको अवस्था आएको बताए । सत्ता गठबन्धनले जे मन लाग्यो त्यही गरेको नतिजा अहिले देखा परेको भन्दै राष्ट्रपति भण्डारीको बचाउ गरे ।
'राष्ट्रपतिले पुनर्विचार गर्न भनेर पठाइसकेपछि अलिकति तलमाथि पनि गर्न नहुने हो ? एउटा शब्द पनि चेन्ज गर्न नहुने के त्यस्तो आपत आइलाग्यो ?' तामाङले भने । कसैलाई रिझाउन मन भएर अध्यादेशमार्फत ल्याउन तामाङले चुनौति दिएका छन् । राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेर संविधानको संरक्षण गरेको दाबी गर्दै अनावश्यक विवादमा तान्न जरुरी नरहेको उनको भनाई छ ।
जनता समाजवादी पार्टीका नेता मनिष सुमनले संविधान निर्माणका बेला भएको त्रुटीको नतिजा अहिले देखा परेको बताए । आफूहरुले संविधानमा भएका त्रुटी हटाउन संशोधन गरौँ भन्दा संविधान विरोधी भनेर धपाइएको उनको गुनासो छ । तर राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधानको घोर उल्लंघन गरेको सुमनको प्रतिक्रिया छ ।
संविधानको संरक्षक भएर कुनै दल र शक्तिको गोटी भएर काम गरेको सुमनले आरोप लगाए । उनले भने–'उहाँको व्यवहार नेकपा एमालेको कार्यकता जस्तो देखियो । उहाँको पूर्व पार्टी एमालेले यही नागरिकतासम्बन्धी कानुनलाई अध्यादेश बनाएर पठाउँदा रातको ११ बजे पारित गर्ने । तर सिङ्गो प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गराउँदा पठाउँदा चाँही दुई पटकसम्म प्रमाणिकरण गर्नुभएन ।'
नेता सुमनले एमालेले अहिले खुशी मनाइरहेको भए पनि राष्ट्रपतिको कदमले अहिलेको व्यवस्था नै धरापमा परेको बताए । आगमी दिनमा राष्ट्रपतिले सरकारबाट भएका सिफारिस स्वीकार नगर्ने खतरा बढेको भन्दै समुनले विधेयक प्रमाणिकरण नगर्नुलाई कूको संज्ञा दिए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता भविश्वर पराजुलीले संविधानमा हुँदै नभएको व्यवस्थाअनुसार संसदबाट पारित भएको विधेयक प्रमाणिकरण नगर्नु असंवैधानिक कदम भएको बताए ।
गैर संवैधानिक र गैर राजनीतिक कदम फेरी पनि दोहोरिने खतरा बढेकोले राजनीतिक दल र नागरिक समाज सचेत हुनुपर्ने बेला आएको पराजुलीको भनाई छ । उनले तत्काल राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने पनि बताए ।
