काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समाजसेवी कृष्णप्रसाद सङ्ग्रौलाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुलीले आज शोक विज्ञप्ति जारी गरी कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद डा. डिला सङ्ग्रौलाका ससुरा समाजसेवी एवम् ज्योतिष कृष्णप्रसादको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।
सङ्ग्रौलाको असोज ३ गते बेलुका ८ बजे आफ्नै निवास मोरङ विराटनगर महानगरपालिका–३ मा ९५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले स्व कृष्णप्रसादप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।
