काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले त्रिशुलीको भेलले बगाएजसरी बगाउने निश्चित भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाउनुपरेको जिकिर गरेका छन् ।
राष्ट्रिय युवा संघको प्रचार भेलालाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारूढ दलहरूलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि उनीहरूले गठबन्धनको त्यान्द्रो समाएको जिकिर गरेका हुन् ।
उनले अनेक प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि आफ्नो पार्टीलाई कमजोर बनाउन नसकेको दाबी गरे । ओलीले नेपाली पुगेको हरेक ठाउँमा एमाले पुगेको र त्यसले मात्रै मुलुकको समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन सक्ने बताए ।
'अनेक प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि प्रमुख पार्टीबाट कमजोर पार्न सकेका छैनन् । अहिले त गठबन्धन बनाएर मात्रै हामीसँग मुकाविला गर्ने कुरा त्यही पनि उनीहरुको धनु कामेको छ एमाले देखेपछि । गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरू काम्छ नि थरर त्यसरी कामेका छन् । त्यसैकारण उनीहरूले यो गठबन्धन बनाउनुपरेको छ र यो गठबन्धन मरिगए छोड्दैन । यो त्यान्द्रो समातेनन् । र, छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ । त्यसकारण यिनीहरूले गठबन्धन नामको या त्यान्द्रो छोड्दैनन्,' ओलीले भने ।
