काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन् ।
पोखरेलले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने जिकीर गरेका छन् । पाँच दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामर्थ्य नभएको उनको भनाइ छ ।
'म गठबन्धनका नेताहरूलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा जनताका बीचमा लिएर जाँदैछ । पाँच दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? उनले भने, ूघोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु ।'
महासचिव पोखरेलले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरूको आवश्यकता नरहेको जिकिर गरे ।
'जति धेरै राजनीतिक दलहरू, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरू त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरूको सम्झौता । त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ,' उनले भने ।
महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्त्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताए ।
उनले ध्रुवीकरण र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि पाँच दलीय गठबन्धन अघि बढिरहेको आरोप लगाए । उनले नेपाली कांग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमूलक पात्र भएको आरोप लगाए । नेपाली कांग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।
