बिर्तामोड । नेपाल विवेकशील पार्टीका संघीय नीति, अनुसन्धान तथा विश्लेषण सचिव सन्तोष घिमिरेले झापाको २ मा प्रतिनिधिसभा सदस्यका लागि बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी पार्टीका तर्फबाट उम्मेद्वारी घोषणा गरेका छन् ।
सन् २००५ मा सूचना तथा प्रविधि विधामा स्नातक तहको अध्ययन पूरा गरेका ४० वर्षीय घिमिरेले बेलायतको लन्डन विश्वविद्यालयबाट इनोभेटिभ टेक्नोलोजी विषयअन्तर्गत कृत्रिम बौद्धिकता तथा मेसिन लर्निङमा स्नातकोत्तर अध्ययन गरेका छन् । बेलायतमा रहँदा उनले अक्सफोर्ड विश्वविद्यालय तथा जिनियस एकेडेमी मा ‘नेतृत्व विकास’ सम्बन्धित व्यावसायिक विषयको अध्ययन तथा तालिम लिने मौका पाएका थिए ।
उनले नेपालमा स्नातक तहको अध्ययन गर्दागर्दै आफ्ना साथीसँग मिली ‘आई टेक सोलुसन प्रालि’ नामक सूचना प्रविधिको क्षेत्रमा काम गर्ने नवीन उद्यमको थालनी गरेर करिब २२ वर्षकै उमेरमा संस्थापक/प्रमुख कार्यकारी अधिकृतका रूपमा व्यावसायिक जीवनको सुरुवात गरेका थिए । लगभग १२ वर्षको बेलायत बसाइँमा घिमिरेले खुद्रा व्यापार, स्वास्थ्य सेवा तथा सूचना प्रविधिका क्षेत्रमा अनुभव हासिल गरेका थिए । त्यस सिलसिलामा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने एक बहुराष्ट्रिय कम्पनी ‘सगुन इन्क’ को युरोप संयोजकसमेत रही काम गरेका थिए ।
सन् २०१७ मा बेलायतबाट नेपाल फर्केपछि उनले सामाजिक, राजनीतिक तथा उद्यमशीलता जस्ता क्षेत्रको विकासमा कटिबद्ध र संकल्पित रही निरन्तर काम गरिराखेका छन् । समाजमा ‘नेतृत्व विकास’ विधाको विषयगत ज्ञानको खडेरी परेको महसुस गरी नेतृ्त्व विकास अभियानको थालनी गरी पूर्वी नेपालका विभिन्न स्कुल, कलेज, सामाजिक संघ-संस्था र व्यावसायिक कम्पनीहरू गरी १०० भन्दा धेरैलाई उनले नि:शुल्क तालिम तथा परामर्श दिएका छन् ।
पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले शनिबार एक विज्ञप्तिमार्फत घिमिरेले उम्मेद्वारी घोषणा गरेको जानकारी दिएका हुन् ।
