• ट्रेण्डिङ्ग :
दसैं आयो
उपत्यकाबाट घर फर्कनेको संख्या बढ्दो, दैनिक लगभग ५० हजार बाहिरिँदै

उपत्यकाबाट घर फर्कनेको संख्या बढ्दो, दैनिक लगभग ५० हजार बाहिरिँदै


  • 6.5K
    SHARES
    • आश्विन १०, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    उपत्यकाबाट घर फर्कनेको संख्या बढ्दो, दैनिक लगभग ५० हजार बाहिरिँदै

    काठमाडौं । काठमाडौं उपत्यकाबाट दसैं मनाउन  दैनिक घर फर्कने यात्रुको संख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुंगा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताएका छन्।

    images

    अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दसैंका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दसैंका अवसरमा घर फर्कनेको संख्या २० लाखको हाराहारीमा रहेको तथ्यांक छ ।
      
    दसैंमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी  सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।
      
    सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिएका छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैं मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ ।

    यातयात व्यवसायीले पनि दसैंका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारीसाधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैं सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # यातायात व्यवस्था कार्यालय
  • # दसैं

  • तेस्रो आँखा