• ट्रेण्डिङ्ग :
देउवाबाट ‘देउवा’ मै पुस्तान्तरण गरेका ‘बिमलेन्द्र, प्रकाशमान’ हरू...

देउवाबाट ‘देउवा’ मै पुस्तान्तरण गरेका ‘बिमलेन्द्र, प्रकाशमान’ हरू...


  • 10.8K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 16.7K Views

    देउवाबाट ‘देउवा’ मै पुस्तान्तरण गरेका ‘बिमलेन्द्र, प्रकाशमान’ हरू...
    • देवेन्द्र बस्नेत / तेस्रो आँखा

    काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेस भित्र ठूलो ‘वैकल्पिक शक्ति’ निर्माण गर्ने ‘हुँकार’ सहित शेरबहादुर देउवाको खिलाफमा ‘भृकुटिमण्डप’ मा उत्रिए बिमलेन्द्र निधि । कांग्रेसमा ‘पुस्तान्तरण’ को मुद्धालाई बेजोड उठाएका उनी ‘देउवा इतर’ का कट्टर नेता बनेर उदाउने लख कांग्रेसवृत्तमा काटियो । उनले दिएका कडा अभिव्यक्तिले ‘देउवाबाट कांग्रेसको नेतृत्व खोसिनै पर्छ अर्थात नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुनुपर्छ ’ भन्ने सन्देश दिइरहेको थियो ।  

    images

    यही एजेण्डालाई टेकेर सभापतिमा ‘बाजी’ मार्ने दाबी गरिरहेका निधि दोस्रो पुस्ताका नेता आँफूलाई सभापतिमा ‘विराजमान’ गराउन मतदाताहरुसंग ‘सहयोग’ मागिरहे । बिभिन्न सञ्चार माध्यममा उनले दिएको ‘शेरबहादुर देउवाको बिकल्प आफू’ भन्ने अभिव्यक्तिले देशभरका कांग्रेसीहरुलाई ‘देउवा इतर निधि’ भनेर स्पष्ट चिनाइसकेको थियो । ‘देउवाको हारका लागि आफ्नो जीत अनिवार्य’ भन्दै आएका निधिले सोमबार भएको पहिलो चरणको निर्वाचनमा जम्मा २४९ मत मात्रै पाए । उनको यो मत कुल ४६८१ मत मध्यको थियो ।

    आफूलाई देउवा भन्दा ‘शक्तिशाली’ भन्दै भृकुटिमण्डप तताएका निधि चौथो स्थानमा आउनुले कांग्रेस भित्रको उनको कमजोर शक्तिलाई प्रमाणित गरिदियो नै । तर, उनै देउवा बिरोधी देखिएका निधिलाई आफ्नो अनपेक्षित मतपरिणामले देउवासँग उप्रान्त भिड्न नसक्ने हैसियतमा उभ्याईदियो । फलतः निधि उनै देउवासँग झुक्ने निर्णयमा पुगे ।

    अनि दोस्रो चरणको सभापति पदको चुनावमा देउवालाई समर्थन गर्ने निर्णयमा निधि पुगे । ‘निसर्त रुपमा उहाँ ९देउवा०लाई सभापतिमा सहयोग गर्ने निर्णय गरेँ,’ निधिले भने ‘सभापतिमा उहाँलाई जिताउनका लागि मेरो पुरा सहयोग हुने छ ।’ सोमबार अबेर सम्म देउवा बिरुद्ध ‘मोर्चा कस्ने’ भनेर बोलेका निधिको यो निर्णयले उनले उठाएको पुस्तान्तरणको एजेण्डालाई उदांगो बनाइदिएको छ । उनै देउवाको बहिर्गमनका लागि पुस्तान्तरणको मुद्धा उठाएका उनै निधि ‘निसर्त’ भन्दै देउवा क्याम्पको शरणमा पर्न जानुले उनले उठाएको पुस्तान्तरणको नारा पूरापुर ‘झूठ’ सावित भएको छ नै उनै निधि पनि झूठा एजेण्डा फ्याँकेर कांग्रेसीलाई रणभुल्ल पार्ने ‘खेलाडी’ बनेका छन् ।

    देउवाकै खिलाफमा मैदानमा उत्रिएर पुस्तान्तरणको नारा लगाउने निधिले उनै पहिलो पुस्ताकै देउवालाइ हाँसीहाँसी सभापतिको ‘साँचो’ बुझाउन खोजे । निधिको यो निर्णयले कांग्रेस नेतृत्व युवामा आउनु पर्छ भन्ने उनी र उनको बेजोडका भाषणलाइ पूर्ण रुपमा गलत प्रमाणित गरिदिएको छ । निधि जस्तै संस्थापन इतरबाट बिद्रोह गरेर सभापतिको उम्मेदवार दिएका प्रकाशमान सिंहको ‘सिंह गर्जन’ पनि मंगलबार बिहान मत्थर बनिदियो । उनको गर्जन पनि देउवा खिलाफ केन्द्रीत नै थियो ‘कांग्रेसमा पुस्तान्तर हुनुपर्छ ।’

    युवा मतदाताहरुमा यहि ‘सेन्टिमेन्ट’ छरेर सानेपा स्थित सभापतिको कुर्सीमा बिराजमान बनाउने सिंह ईच्छा पनि उनको ३७१ मत ले भताभुंग पारिदियो । सभापति बन्ने लक्षसहित भृकुटिमण्डपमा पुरानो पुस्ता बिरुद्ध गर्जीएका ‘सिंह’ पनि आफ्नो कोटामा परेको ३७१ मत पुरानै पुस्ताका देउवालाई बुझाइदिन तयार भैसके । उनको यो निर्णयले पनि पुस्तान्तरणको मुद्धा युवाहरुको सेन्टिमेन्ट खिच्ने प्रयत्नमात्रै रहेको प्रष्ट पारिदिएको छ । फलतः सिंह पनि बिचार र एजेण्डा प्रति दृढ रहन नसक्ने नेताका रुपमा १४ औँ महाधिवेशनबाट चिनिएका छन् ।

    गत शनिबार सभापतिमा पहिलो उम्मेदवारी दर्ता गरेका कल्याण गुरुङ जम्मा २० मत हकदार बने । गुरुङको उम्मेदवारी पनि युवा पुस्ता नेतृत्वमा आउनु पर्छ भन्ने एजेण्डा केन्द्रीतै थियो । ८२ मतले मात्रै पहिलो चुनावबाट निर्वाचित हुन नसकेका शेरवहादुर देउवाका लागि गुरुङको २० मत दोस्रो चरणका लागि अपरिहार्य हो नै । फलतः दोस्रो चरणको मतदानमा मत बढाउने लक्ष्य अुनरुप बिहानै दौडधुप थालेका देउवा गुरुङ सम्म पनि गईपुगे । गुरुङले पनि देउवालाई आफ्नो समर्थन जनाइदिए । फलतः गुरुङ पनि युवा पुस्तालाई प्रयोग गरेर आफ्नो राजनीतिक ‘कद’ बढाउने चेष्टा बोकेका नेताका रुपमा दरिए ।

    पुस्तान्तरणको गहन मुद्धालाई बलियो एजेण्डा बनाएर कांग्रेस सभापतिको रेसमा दौडिएका यि नेता त्रयले यो नारा आफ्नो स्वार्थसिद्धका लागि मात्रै उठान गरेको प्रष्ट भएको छ । जबकी उनिहरुले कांग्रेसमा पुस्तान्तरण चाहेकै भए दोस्रो पुस्ताका डा। शेखर कोइरालालाई समर्थन गरेर पुरानो पुस्ताको रजगज भत्काउने सामथ्र्य राख्न सक्थे । तर आफु असफल भएपछि पुस्तान्तरणको एजेण्डालाईनै तिलाञ्जली दिएर यि नेताहरु स्वयं पुरानै पुस्ताको ‘कोटरी’ मा गइपुगेका छन् । फलतः कांग्रेस भित्र उठ्ने गरेको पुस्तान्तरणको मुद्धा पार्टी पद्धति परिवर्तनका लागि मात्रै नभई ब्यक्तिगत स्वार्थ केन्द्रीत बनेको त हैन भन्ने प्रश्न कांग्रेसीका सामु उब्जाईदिएको छ ।

    विश्वप्रकाश शर्मा : देउवा क्याम्पमा नयाँ प्रवेशी कि ‘फिर्ती सवारी’ ?

    कांग्रेसको प्रवक्ताको जिम्मेवारी पाएपछि सभापति देउवा क्याम्पका बलिया युवा नेता बनेका विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी थिए । तर उनकै गृहजिल्ला झापाका कृष्णप्रसाद सिटौलसंगको ‘देउवा सामिप्य’ ले प्रवक्ता शर्मा आफ्नो ‘ग्याङ’ बाट महामन्त्री उम्मेदवार बन्न पाएनन् ।

    सिटौलासँग भएको सहमतीका आधारमा सिटौलाका पृय युवा नेता प्रदीप पौडेललाई महामन्त्री बनाउने देउवा निर्णयले बिश्वप्रकाश उक्त समूहबाट निस्कीए । राष्ट्रिय सभागृहमा समुह बेगर महामन्त्रीमा उम्मेदवारी दिएका विश्वप्रकाश प्रकाशमान सिंहसँग गाँसिए ।

    तर सभापतिमा अनपेक्षित मत परिणाम आएपछि देउवा समुहमा सेपिएका प्रकाशमानसँगै बिश्व प्रकाश फेरी देउवा कोटरीमा सामेल भैसके । उनी देउवा क्याम्पमा नयाँ प्रवेशी कि उनको फिर्ती सवारी  भन्ने प्रश्न उनको भुमिकाले उठाइदिएको छ । युवाको नेतृत्वमा पार्टी चल्नु पर्छ भन्ने चर्का भाषण दिने गरेका शर्मा पनि पुस्तान्तरणका पक्षमा लागेनन् । दोस्रो पुस्ताका डा. शेखरलाई समर्थन नगरेका उनि पनि ‘पुरानै पुस्ता पृय’ युवा नेता बनेका छन् ।

    देउवा क्याम्पमा सुजाता : ‘माइती’ हराउन भृकुटीमण्डप

    कांग्रेसको १४ औँ महाधिवेशनमा पारिवारिक बिचलनको एउटा घटना पनि भयो । आफ्ना दाजु डा। शेखरलाइ सभापतिमा हराउनकै लागि फरक समुहमा लागेकी सुजाता कोइरालाको निर्णय पारिवारिक बिचलन मात्रै हैन, कांग्रेस भित्रको कोइराला बिरासत भत्काएको ऐतिहाँसिक घटना सम्म बन्यो। माइतीघर ९कोइराला परिवार० मा ‘चेली’ लाई बेवास्ता गरिएको गुनासो सहित प्रकाशमान सिंहको क्याम्पबाट उपसभापतिमा उम्मेदवारी दिएकी सुजाताको मतदान सोमबारै सकिइसक्यो ।

    उनलाई मतदाताहरुले मतदान गरिसके र उनको नाममा परेका मतहरु सानेपा स्थित पार्टी कार्यालयमा सुरक्षित छन् । तर, सभापतिमा ‘आफ्ना नेता’ सिंह तेस्रो स्थानमा पुगेर पराजित भएपछि सिंहले गरेको ‘देउवा समर्थन’ को निर्णयलाई सुजाताले पनि ‘ओके’ गरिदिईन् । तर, आफ्ना दाजु ‘शेखर मोह’ उनले मंगलबार पूर्णरुपमै भंग गरिदिईन् ।  शेरबहादुर देउवालाई सभापतिमा जिताउनका लागि मंगलबार फिल्डमा खटिएकी सुजाताको यो निर्णयले ‘माइतीसंगको उनको राजनीतिक सम्बन्ध’ मा पूर्णबिराम लागेको अनुमान गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा