पौडेल ‘बा’ को १४औं महाधिवेशनपछिको यात्रा राजनीतिक सन्यास कि देउवातिर ?

पौडेल ‘बा’ को १४औं महाधिवेशनपछिको यात्रा राजनीतिक सन्यास कि देउवातिर ?


रामचन्द्र पौडेल विगतदेखि वर्तमानसम्म

  • 9.9K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    पौडेल ‘बा’ को १४औं महाधिवेशनपछिको यात्रा राजनीतिक सन्यास कि देउवातिर ?
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, २८ मंसिर  । संस्थापन इतर पक्षको नेतृत्व गरेका वरिष्ठ नेता रामचन्द्र पौडेल उनीपक्षीय कार्यकर्ताका लागि ‘बा’ हुन् । राजनीतिमा लामो अनुभव र उताप—चडाव भोगेका पौडेलले आफूलाई केन्द्रमा राखेर राजनीतिको मियो समाउने धेरै प्रयास गरे ।

    images

    कहिले प्रधानमन्त्रीको चुनावी दौडमा त अहिले पार्टीभित्रै फरक मत राखे । जहिले पनि नेतृत्वमा रहन चाहने उनी १४औं महाधिवेशनको मनोनयन दर्तासम्म आइपुग्दा एक्कासी कांग्रेस राजनीतिबाट अलग भएको संकेत गरे । यतिसम्म कि उनले मतदानमा पनि सहभागिता   जनाएनन् ।

    खासमा भोट नागरिकको नैसर्गिक अधिकार हो । तर, उनले आफैंले लामो समयदेखि जगेर्ना गरेको पार्टीको १४औं महाधिवेशनमा सहभागी नहुने भन्दै पार्टी विधानविपरित उभिए । उनको यो कार्यबाट उनमा आस्था राख्ने अधिकांश नेता÷कार्यकर्ताको मनमा ठूलो चोट पुग्नगयो  । उनले आफू मतदानमा सहभागी नहुने अपिल गर्दै कार्यकतालाई विवेक प्रयोग गर्न आह्वान गरे । त्यसको नजिता मंगलबार बिहान सम्पन्न सभापतिको मतगणनाले देखायो ।

    तर, प्रसंग ‘बा’ ले किन पार्टी पद्धतिको बहिस्कार गरे ? किन पार्टीको विधानविपरित गए ? के उनी अब निर्वाचित हुने सभापतिले मनोनयन गर्ने ३० केन्द्रीय सदस्यभित्र आउँदैनन् ? वा पार्टीको जिम्मेदवारी उनमा रहँदैन ? उनी निकट नेता÷कार्यकर्ताको हैसियत के रहने ? अब पार्टीमा ६०÷४० को भागबण्डा हुँदैन ? यी र यस्ता प्रश्नले अहिले उनी निकट कार्यकर्ता अन्योलमा परेका छन् ।

    संस्थापन इतर पक्षले करिब ४ महिना पहिले अर्थात कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत वडा तहको अधिवेशन हुन एक दिन अघि आफ्नो पक्षबाट साझा उम्मेदवार घोषणा गर्ने बताएको थियो । भदौं १८ गते केन्द्रीय पार्टी कार्यालय ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षको नेतृत्व गर्दै पौडेलले आसन्न महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार घोषणा गर्ने बताएका हन् ।

    पत्रकारको प्रश्नमा उनले मैमाथि पनि साझा सहमति हुनसक्छ भन्ने जवाफ दिएका थिए । तर, गत शुक्रबारदेखि काठमाडौंमा जारी काँग्रेस १४औं महाधिवेशनमा अन्तिम अबस्थामा आफूमाथि साझा सहमति हुन नसकेपछि मतदानमा सहभागी नहुने प्रतिक्रिया दिए । यसले सिंगो पार्टीवृतमा हलचल त ल्यायो तर शंका पनि बढायो । उनी जहिले आफू नेतृत्वमा आउने प्रयास देखिए ।

    उनी सुशील कोइरालाको आकस्मिक निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका थिए । त्यो समय उनले आफ्नै पहिचान बनाए । विगतदेखि वर्तमानसम्म कांग्रेस राजनीतिभित्र समन्वयकारी एवं मध्यमार्गी भूमिकामा रमाउँदै आएका पौडेल पटक–पटक मन्त्री भएर सरकारमा गए, पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए । सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न भने अहिलेसम्म चुक्दै आएछन् ।

    चौधौं महाधिवेशनबाट पार्टीको सभापतिमा निर्वाचित भए सबै ढोका खुल्ने उनको अपेक्षा थियो तर, त्यो सफल हुन सकेन । कांग्रेसको १५औं महाधिवेशन अब पाँच वर्षपछि मात्रै हुनेछ । त्यो समयसम्म कांग्रेसवृतको राजनीतिमा धेरै परिवर्तन आउने छ । सायद यही भएर पनि होला उनी अब राजनीतिमा स्थीर रहन चाहेका छन्  ।

    बीपी कोइरालालाई राजा महेन्द्रले २०१७ सालमा जेल हालेपछि त्यतिबेला १६ वर्षका पौडेल ढुन्मुनाउँदै राजनीतिमा छिरे । त्यसपछि कहिल्यै बाहिर निस्कन सकेनन् । बीपी कोइराला ०३३ सालमा भारतको निर्वासनबाट फर्केपछि उनीसँग निकट रहेर काम गरे पौडेलले । यद्यपि, त्यतिबेलादेखि नै पौडेलले पार्टीभित्र समन्वयकारी भूमिकाको अभ्यास गर्न थालेका थिए ।

    युवा अवस्थामै शीर्ष नेताहरूबीचको अन्तरसंघर्षका क्रममा आफूले सम्बन्धसेतुको काम गर्ने गरे । बनारसमा रहेका बीपी कोइराला र कोलकातामा रहेका सुवर्णशमशेरबीच मनमुटाव हुँदा आफूले नै उनीहरूबीच संवाद स्थापित गराउने गरेको उनको दाबी छ ।

    विक्रम संवत २००१ सालको असोजमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा जन्मेका पौडेल १६ वर्षको उमेरदेखि नै राजनीतिमा लागे । नेपाली कांग्रेसद्वारा सञ्चालित २०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सहभागिता जनाए । २०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल २०२३ सालमा सरस्वती क्याम्पस, काठमाडौंको विद्यार्थी युनियन सभापति निर्वाचित भए । २०२४ सालमा उनी प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचित भए ।

    नेपाल विद्यार्थी संघको २०२७ सालमा स्थापना हुँदा पौडेल पनि सहभागी थिए । र, उनी संस्थापक केन्द्रीय सदस्य बने । त्यस्तै २०४० सालमा पौडेललाई कांग्रेसले केन्द्रीय प्रचार समितिको संयोजक बनायो । २०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा छन् ।

    पञ्चायतको अन्त्य भई २०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल २०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित भए । त्यसपछि बनेको सरकारमा स्थानीय विकासमन्त्री भए । दोस्रो पटक २०४९ मा उनी स्थानीय विकास तथा कृषिमन्त्री बने ।

    विक्रम संवत २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित भए । २०५१ सालको प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गरे । रामचन्द्र पौडेल २०५६ सालमा तनहुँ २ बाट संसद सदस्यमा तेस्रो पटक निर्वाचित भए र २०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाले । २०६२ सालमा कांग्रेस महामन्त्री भए । यसले पनि उनलाई पद र प्रतिष्ठामा रहने बानी बस्यो ।

    माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयको संयोजक पनि थिए । २०६३ सालमा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री भए, जुन सरकारमा माओवादी पनि संलग्न      थियो । २०६४ सालमा उनी नेपाली कांग्रेसको उपसभापति भए ।

    त्यसै वर्ष सम्पन्न संविधानसभा चुनावमा तनहुँ २ बाट चौथो पटक निर्वाचित भए । २०६५ सालमा उनी नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भए । २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौं पटक निर्वाचित भए ।

    पौडेलले पञ्चायती राजतन्त्रविरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्न पटक गरी १३ वर्ष जेल जीवन बिताएका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन् भने संस्कृत साहित्यमा त्रिविबाटै शास्त्री पास गरेका छन् ।  

    करिब तीन दशकसम्म संसदीय चुनावमा जित हात पार्दै आएका पौडेलको राजनीतिक जीवनमा एउटा कालो धब्बाका रूपमा रहेको प्रधानमन्त्री पदमा १७ पटकको पराजय हो । यद्यपि, यो कालो धब्बा लाग्नुमा उनी स्वयं जति जिम्मेवार छन्, त्योभन्दा बढी तत्कालीन संवैधानिक व्यवस्था जिम्मेवार छ ।

    साउन २०६७ बाट सुरुभएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल, तत्कालिन माओवादीबाट दाहाल र नेकपा (एमाले) बाट झलनाथ खनालले संसदमा उम्मेदवारी दिएका थिए । तर, संवैधानिक प्रावधान अनुसारको मतसंख्या तीनै जनाले हासिल गर्न नसकेपछि सात पटकसम्म तीन जनाबीच प्रतिस्पर्धा भयो ।

    आठौं प्रतिस्पर्धापछि दाहाल प्रधानमन्त्रीको दौडबाट आफैं बाहिर निस्किए । त्यसपछि पौडेलले खनालसँग १७ पटक प्रतिस्पर्धा गरे । यो चुनावी श्रृंखलाबाट कुनै परिणाम आउन नसकेपछि निर्वाचनसम्बन्धी नियमावली नै परिवर्तन गरियो । अर्को चरणमा झलनाथ खनालले बाजी मारे । पौडेलको राजनीतिमा ‘१७ पटक प्रधानमन्त्रीमा पराजय’ भन्ने दाग बस्यो ।

    पौडेल राजनीतिका चतुर खेलाडी भने होइनन् । राजनीतिक दाउपेचमा कमजोर भएकाले नै उनी अहिलेसम्म देशको र पार्टीको प्रमुख पदमा पुग्न नसकेका हुन । तर, यस पटक आफ्नै पार्टीको आगामी नेतृत्व चयन गर्ने उत्सवमा भाग नलिंदा यसले राजनीतिमा अर्थ राख्छ । उनी गठबन्धनको सरकारमा पदकै लागि संयोजक बनेका छन्, जुन गठबन्धनका लागि कुनै अर्थ छैन ।

    चौधौं महाधिवेशनको मतदान प्रक्रिया सकिएलगत्तै पौडेलले आफू निकट नेता÷कार्यकर्तालाई आफ्नो निवासमा चियापानका लागि बोलाए । तर, त्यहाँ सभापतिमा ५० प्रतिशत मत प्राप्त गर्न नसकेका शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै पनि पुगे ।

    उनले कसलाई समर्थन गरे ? त्यो भने समयको गर्भमै रह्यो । सात वर्षदेखि एउटा समूहको नेतृत्व गरेका पौडेलले अन्ततः १४औं महाधिवेशनबाट कांग्रेस राजनीतिबाट विश्राम लिने संकेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा