काठमाडौं । काठमाडौं महानगरपालिकाले यही असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरे पनि नागरिकले त्यसको पालना नगरेको देखिएको छ ।
कामपाले सार्वजनिक सूचना जारी गर्दै यही असोज १ देखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गरे एक सय रुपैयाँ जरिवाना लाग्ने सूचना सार्वजनिक गरेको थियो ।
रत्नपार्क, न्युरोड, असन, सुन्धारालगायत भिड बढी हुने स्थानमा खुलेआम रुपमा सुर्तीजन्य पदार्थ सेवन गरिरहेको पाइएको छ । कामपाका प्रमुख बालेन्द्र साह, सचिवालय सदस्य सुनील लम्सालले यस सम्बन्धमा कामपाका नगरप्रहरीहरुले नियमित अनुगमन गरिरहेको र अवज्ञा गर्नेहरु जुनसुकै समयमा कारबाहीमा पर्ने बताएका छन् ।
सूचनाको अवज्ञा गरेको पाइए सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही र जरिवाना गर्ने बताइएको छ । कामपा नगरसभाको ११औँ अधिवेशनले सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति पारित सरिसकेको हुनाले यस किसिमको व्यवस्था गरिएको जनाइएको छ ।
