मुलुकमा हिन्दु नेपाली समुदाय महानचाड बडादसैं र तिहार मनाउने क्रममा छन् । हिन्दु धर्मावलम्वी बाहुल्य नेपाली समाजलाई दसैं-तिहारको हर्षोल्लास र खुसीले मज्जैले छुने गर्छ । तर चाडपर्व सुरु भएसँगै दुर्घटनाको त्रास पनि उत्तिकै हुने गर्छ । नेपालमा दसैंका बेला ठूलाठूला दर्दनाक सवारी दुर्घटना हुने गरेका उदाहरणहरु प्रशस्तै छन् ।
विगतमा चाडबाडका बेला अन्य दिनका तुलनामा सवारी दुर्घटना निकै बढी भएका छन् । २०७८ सालमा दसैं-तिहारमा देशभरि सवारी दुर्घटनामा परेर २३४ जनाको मृत्यु भएको थियो । एक हजार ८९८ जना घाइते भए । अन्य वर्षको तुलनामा २०७८ सालको दसैं-तिहारमा धेरै सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयसँग तथ्यांक छ ।
यसैगरी, २०७७ सालको दसैं-तिहारको समयमा एक हजार ३३६ सवारी दुर्घटना भए । उक्त दुर्घटनामा १४२ जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनाले निश्चित रुपमा पूरै परिवारमा क्षति पुर्याउने गर्छ । दुर्घटनाले आर्थिक अवस्था कमजोर बनाइ पारिवारिक संरचना नै खलबल्याउँछ । यसर्थ, चालकले सवारी चलाउँदा विशेष ध्यान दिनुपर्छ । एउटै चालकले लामो समयसम्म गाडी चलाउनु दुर्घटनाको मुख्य कारण हो । राति र दिउँसो एउटै चालकले लगातार सवारी चलाउँदा निद्रा नपुगेर नियन्त्रण गुमाउन सक्छ ।
प्रहरीको चाहना दुर्घटनारहित यात्रा
राष्ट्रिय राजमार्गमा रहने प्रहरी र ट्राफिक प्रहरीले थप चासो हुनुपर्छ । लामो दूरीमा चालक फेरिन्छन् कि फेरिन्नन् ? ध्यान दिनुपर्ने हुन्छ । लामो यात्रामा चालक थाक्ने, निदाउने,चटक देखाउने, संगीतमा भुल्ने र यात्रुसँग गफिने हुनसक्छन् । हल्का मापसे गरेका चालकले अम्बकका पात तथा चियापत्ती चपाएर लुकाउन खोज्ने हुन्छन् । अत्यधिक गति बढाउने र टाइम कार्डलाई लुकाउन चाहने पनि हुन्छन् । यस्तै अधिकांश चालक ४ घण्टामा यात्रा विश्राम गर्न नचाहने हुन्छन् । सवारीधनीले जस्तासुकै सवारीसाधन सञ्चालनमा ल्याउने भएकाले बिमा भए/नभएकोतर्फ ध्यान दिनुपर्ने हुन्छ । यस्तै वास्तविक सवारीचालक हुनुपर्छ ।
चालक बस चलाउने अनुमतिपत्र प्राप्त हुनुहुपर्छ । सिट क्षमताअनुसार यात्री चढाउनुपर्छ । यात्रुसँग भाडादर नबढाइकन तोकिएको मात्रामा लिने वातावरण बनाउनुपर्छ । गाडीको प्यासेजमा मुढा राखेर यात्री राखे/नराखेको विषयमा ट्राफिक प्रहरीले विशेष ख्याल गर्नुपर्छ । कहिलेकाहीँ चालक तथा सहचालकको व्यवहार यात्रुलाई नपच्ने खालको हुन्छ ।
यसतर्फ विशेष चासो दिनु्पर्ने हुन्छ। सवारीसाधन रोकिने स्थानमा प्रहरीले यात्रुसँग पनि सोधपुछ गर्ने गर्नुपर्छ । वास्तवमा सडकमा सवारीसाधन सञ्चालन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । चालक मात्र होइन, सवारीमा यात्रा गर्दा यात्रीले पनि ध्यान नदिनु भनेको जीवनका निम्ति जोखिम हुन सक्छ । सवारीसाधन गुडिरहेका बेला पनि १०० नम्बरमा समस्या सुनाउन सम्भव हुन्छ । फोनमा प्रहरी हरहमेसा हुने भएकाले जानकारी दिन मोबाइलबाट नै सहज हुन्छ ।
बढी भाडा लिनेलाई कानुनमा के व्यवस्था छ ?
बढी भाडा लिने सवारीधनी वा चालकलाई गरिने कारबाहीका सम्बन्धमा ऐनमा उचित व्यवस्था गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ मा भाडा निर्धारण गर्नेसम्बन्धी व्यवस्था छ । उपदफा १ मा कुनै बाटोमा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधनले लिने भाडादर तोकिएबमोजिम हुने उल्लेख छ ।
उपदफा २ मा यात्रीले आफूसँग निःशुल्क लैजान पाउने यात्रीगुन्टाको अधिकतम वजन र सोबाहेक भाडा तिरी आफूसँग लैजान पाउने यात्रीगुन्टाको अधिकतम वजन तथा भाडा तोकिएबमोजिम हुने उल्लेख छ । यस्तै दफा ९६ को उपदफा ३ मा तोकिएको भाडा दरभन्दा बढी हुने गरी भाडा लिनु हुँदैन भनिएको छ । सोही ऐनको दफा १६४ (थ) मा निर्धारित भाडा दरभन्दा बढी भाडा लिई सवारी चलाएको भनिएको छ । जरिवाना पनि फरक-फरक नै तोकिएको देखिन्छ ।
बढी भाडा लिने पक्राउ
चाडपर्वको समयमा यात्रुबाट तोकिएभन्दा बढी भाडा लिनेलाई काठमाडौं उपत्यकाबाट ट्राफिक प्रहरीले पक्राउ पनि गर्ने गरेको छ । यही असोज १२ गतेमात्रै ४२ जना पक्राउ परेका छन् । मौकामा बढी रकम लिन खोज्ने सबैलाई ट्राफिक प्रहरीले ऐनबमोजिम कारबाही गर्छ । तर कारबाही गरिए पनि ठग्ने क्रियाकलाप भने रोकिएको छैन । बढी भाडा माग्ने सवारीसाधनलाई कारबाहीका लागि नजिकको प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी दिए समस्या समाधान गर्न सघाउ पुग्ने हुन्छ ।
यात्रु विभिन्न बहानामा ठगिने गरेका छन् । बढी भाडा लिने सवारीसाधनको नम्बरसहित १०३ वा १०० नम्बरमा फोन गरेर जानकारी दिए पनि सवारीसाधन दुर्घटना कम गर्न सकिन्छ । नागरिक र प्रहरी दुवैले सवारीसाधन दुर्घटना कम गर्न बढी चासो दिनुपर्ने हुन्छ । राष्ट्रिय राजमार्गमा कर्तव्य पालन गर्ने प्रहरी र ट्राफिक प्रहरीको चासो अब थप हुनुपर्ने देखिन्छ । लामो दूरी चलाउने चालकहरु प्रायः फेरिएको देखिँदै । कडाइका साथ सचेतना दिएर चालक फेरिन आवश्यक देखिएको छ ।
विपिन गौतम
