काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकटको बादल मडारिरहेको बताएका छन् ।
दसैँको अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको बताएका हुन् ।
उनले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताए । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन् । मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको उनको भनाइ छ ।
पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने पनि बताएका छन् ।
उनले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेन्डा लिएर आगामी चुनावका जाने बताएका छन् । संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने उनको भनाइ छ।
