दाङ । नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा भंग गर्नेलाई जनताले सजाय दिने सुनौलो अवसर आएको बताएका छन् ।
एकीकृत समाजवादी क्षेत्र नं १ दाङको आयोजनामा सोमबार लमहीमा आयोजित कार्यक्रममा मन्त्री चौधरी भने, ‘सबै मिलेर विगतमा पञ्चायत फालियो । राजतन्त्र फालियो । नयाँ संविधानमार्फत गणतन्त्र पनि सबै मिल्दा मात्र सम्भव भएको हो । अब फेरि जसले जनताको सर्वोच्च निकाय प्रतिनिधिसभा दुई-दुईपटक भंग गर्यो त्यसलाई सजाय दिने सुनौलो अवसर आएको छ ।’
नयाँ संविधान समावेशी, प्रगतिशील, महिलामैत्री, सीमान्तकृत जनजातिका पक्षमा रहेकाले यसलाई समाप्त पार्न केपी ओली लागेको बताउँदै मन्त्री चौधरीले थपे, ‘विश्वमै उत्कृष्ट संविधान हामीले बनाएका थियौं । जनताको ठूलो त्याग र बलिदानबाट बनेको नयाँ संविधानमाथि किन निरन्तर प्रहार भयो, किन त्यत्रो उपलब्धि समाप्त पार्न खोजियो भन्ने कुरा अब जनताले बुझिसकेका छन् । राष्ट्रियसभाको चुनावदेखि स्थानीय चुनावसम्म आइपुग्दा ओली पार्टी रक्षात्मक बन्दै गएको छ र अबको चुनाबबाट समाप्त हुने दिशातर्फ उन्मुख भएको छ ।’
