काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज (शुक्रबार) बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याउने तयारी भएको छ । यसका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
बिहानैदेखि बालुवाटारमा जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँचदलीय कार्यदलका सदस्य-सचिव केशवराज जोशीले जानकारी दिए । बिहीबारसम्मको बैठकमा जसपा पनि सहभागी थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
लोसपाका नेता अनिल झा सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल हुने वा नहुने निश्चित हुने जानकारी दिए ।
कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँड गरिसक्ने उनले बताए । निर्वाचन क्षेत्र बाँडफाँडका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै शुक्रबार अन्तिम रुपमा दिन निर्णायक वार्ता भइरहेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि यही असोज २३ गते आइतबार उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगले तोकेको छ । त्यसअघि गठबन्धनले क्षेत्र बाँडफाँड गरी दलले उम्मेद्वार तोक्नुपर्नेछ । यसका लागि अब भोलि (शनिबार) सम्म समय बाँकी रहेकाले पनि आजै बाँडफाँड सक्न चार दल जुटेका हुन् ।
सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्वको सहभागिता छ ।
-फाइल तस्बिर
