काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं. ६ मा सर्वेन्द्र खनालले टिकट पाएका छन् ।
नेपाल प्रहरीका पूर्वआईजीपी खनाल ६ असोज २०७९ मा एमाले प्रवेश गरेका हुन् । खनाल जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिएका थिए ।
खनाल एमाले नेता महेश बस्नेत र हाल नेकपा एकीकृत समाजवादीमा रहेका किसान श्रेष्ठसँगै जनकपुर पुगेका थिए । तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पार्टीका नेता डाक्टर यादव अपहरणमा केपी शर्मा ओलीको डिजाइन भएको आरोप लगाएका थिए ।
खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए। २०७६ माघ २८ गते उनले अवकास पाएका थिए । अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन् ।
अपहरण काण्ड हुँदा त्यतिबेला ओली नेतृत्वको सरकार रहेको थियो । यद्यपि, समाजवादी फुटाउन ओली सफल रहे । नेकपा एमालेले यसअघि नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालाई पनि पार्टी प्रवेश गराएर टिकट दिएको थियो । सिलवाल ललितपुर क्षेत्रबाट सांसद समेत बनेका थिए ।
