काठमाडौं । हाल नेपालमा मध्य–पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव परिरहेको अवस्था छ । अहिले प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली भइरहेको छ । प्रदेश १ , बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, आज (शनिबार) दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राति भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आंशिकदेखि सामान्य बदली रहेछ । थोरै स्थानहरूमा मेघगर्जनको सम्भावना रहेको छ ।
