काठमाडौं । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँड भएको छ । पाँच दल रहेका सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेलको तयारी गरेपछि १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएका हुन् ।
प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँड भएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेद्वारी दिने भएको छ । माओवादी केन्द्रले ४७ क्षेत्रमा उममेद्वारी दिनेछ ।
नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेद्वारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उमेदवारी दिने भएको छ ।
प्रदेशसभातर्फ ३३० सिटमध्ये गठबन्धनमा आबद्ध राष्ट्रिय जनमोर्चालाई सिट छुट्टयाइएको छैन भने कांग्रेसले १५६ सिटमा उम्मेद्वारी दिनेछ । यसैगरी
माओवादी केन्द्रले ९९, एकीकृत समाजवादीले ३६ सिटमा उम्मेद्वारी दिनेछ । दुवै पार्टीको दाबी रहेका १२ वटा प्रदेशसभा छन् । २७ वटा प्रदेशसभाको सिट भने खाली राखिएको छ ।
यसैबीच नेपाली कांग्रेस संसदीय बोर्डले सभापति शेरबहादुर देउवासहितका केही नेताको उम्मेद्वारी टुंग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति बसेको संसदीय बोर्डको बैठकले सभापति देउवालाई डडेलधुराबाट उम्मेद्वार बनाउने निर्णय गरेको छ । यसैगरी बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाममा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, दार्चुलामा दिलेन्द्रप्रसाद बडू,मनाङमा टेकप्रसाद गुरुङ, तेह्रथुममा सीता गुरुङको उम्मेद्वारी टुंग्याएको हो । त्यसैगरी कांग्रेसले धनकुटामा सुनीलबहादुर थापालाई टिकट दिने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशसभातर्फ जुम्ला (ख) मा ललितजंग शाही, तेह्रथुम (क) मा सन्तोष सुब्बा, ताप्लेजुङ (ख) मा खगेन सिंह हाङवाङलाई टिकट दिने निर्णय गरेको छ ।
