काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेद्वार हुनबाट पार्टीले रोकेको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन् ।
आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय लिने उनले बताए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि अछाम १ बाट रावल सर्वसम्मत रूपमा सिफारिस भए पनि उनलाई रोकेर माओवादीबाट हालै एमाले प्रवेश गरेका झपट बोहोरालाई टिकट दिइएको छ ।
रावलले कुनै पदमा जाने वा नजाने भन्दा पनि राष्ट्रको सर्वोपरि हित र पार्टी विधिमा चल्नुपर्ने विषय आफ्ना लागि महत्त्वपूर्ण हुने बताएका थिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने टिकट पाउन १० बुँदे पक्षधरले लिखित माफी माग्नुपर्ने आफूनिकटहरूसँग बताउँदै आएका थिए ।
पार्टीका अर्का बौद्धिक एवं प्रभावशाली नेता घनश्याम भुसालले आज (शनिबार) मात्र एमाले परित्यागको घोषणा गरिसकेका छन् । रूपन्देहीबाट सिफारिस भए पनि एमालेले टिकट दिएन । भुसाल रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्वार दिने तयारीमा पनि छन् । भुसाललाई सत्ता गठबन्धनले सघाउने बताइएको छ ।
