काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे 'विवेकशील अभियान'बाट काठमाडौं– ९ मा उम्मेदवारी दिने भएका छन् । आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पाण्डेले विवेकशील अभियानको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिने जानकारी दिएका हुन् । उनले शिक्षा, स्वास्थ्य, युवा रोजगारीका निम्ति संसदबाटै आवाज उठाउने समेत बताएका छन् ।
विज्ञप्ति यस्तो छ :
‘ अब संसदबाटै शिक्षा, स्वास्थ्य, युवा रोजगारीका निम्ति आवाज उठाउन चाहन्छु ’
मेरो परिचय
नमस्कार, म मिलन पाण्डे। म सिभिल इन्जिनियर हुँ। म ३३ वर्षको भएँ। मेरो घर काठमाडौँ महानगर वडा २१ मा छ। मेरो जन्म, शिक्षा-दीक्षा, घर सबै यही क्षेत्रमा पर्छ। म २०७४ सालमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार थिएँ। राजनैतिक पृष्ठभूमिको बारेमा भन्नुपर्दा, म २०७० सालमा विवेकशील नेपालीको संस्थापक सदस्यको रूपमा वैकल्पिक राजनीतिमा प्रवेश गरेको थिएँ। विवेकशील नेपालीको प्रवक्ता र २०७६ सालमा विवेकशील नेपालीको अध्यक्ष निर्वाचित भएको थिएँ। त्यसपछि, २०७७ सालमा विवेकशील साझा पार्टीको संयोजक भएँ।
हालसम्मको राजनैतिक/सामाजिक योगदान मैले विवेकशील अभियान मार्फत नै गरेँ। नेपाल खुल्ला छ, संविधान कहिले ?, डाक्टर गोविन्द केसीको स्वास्थ्य सुधार अभियान, न्यायपालिका सुधार अभियान, युवालाई राजनीतिमा आकर्षण जगाउने अभियान लगायत करिब दुई दर्जन अभियानमा विगत १० वर्षदेखि सक्रिय नेतृत्व गर्दै आइरहेको छु।
मेरो शिक्षा सुधारमा विशेष रुचि छ। मैले विभिन्न संस्थामा करिब १० वर्ष पढाएको छु। मैले काठमाडौँको प्रतिष्ठित कलेजको शैक्षिक निर्देशक भएर समेत अनुभव प्राप्त गरेको छु। साथै, विभिन्न जिल्लाहरूमा गएर शिक्षक र विद्यार्थीहरूसँग कार्यक्रम र अन्तरक्रिया गरेको छु। लेखहरू/अन्तर्वार्ताहरू मार्फत बहस चलाउने, विद्यार्थीहरूलाई र शिक्षकहरूलाई तालिम दिने काम गर्दै आइरहेको छु। त्यही छोटो अनुभवको आधारमा, प्रत्येक नागरिकलाई निःशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्छ भनेर वकालत गरिरहेको छु।
किन उम्मेदवारी ?
२०७४ सालको निर्वाचनमा म पहिलोपल्ट काठमाडौँ क्षेत्र नं. ९ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेको थिएँ। क्षेत्रका मतदाताले करिब ५ हजार मत दिँदै ‘५ वर्ष पर्ख, काम गर, अनि फेरी आऊ’ भनेर मौन सन्देश दिनुभएको थियो। मैले ५ वर्ष निरन्तर विभिन्न राजनैतिक, सामाजिक र दलगत कामहरू गरेँ। क्षेत्र नं ९ मै पनि कोरोनाको बखतमा होस् वा अन्य बेलामा हामीले सक्दो गर्यौँ। शिक्षक तालिममा पनि हामीले काम गर्यौँ।
विवेकशील अभियान, चुनाव चिन्ह पाइला
एक जना सहकर्मीले राजावादी धार लिएपछि पार्टी चरम वैचारिक विचलनमा फस्यो। यही बिच हामीले गणतन्त्रको पक्षमा उभिँदा हामीलेनै बनाएको पार्टीबाट हामीलाईनै निकाल्ने काम भयो। आज पार्टी विहीन अवस्थामा म यो रूपमा क्षेत्र न ९ मा जान बाध्य छु। म एउटा वैचारिक धारको र सांगठानिक धारको नेतृत्व गर्छु, त्यसैले म स्वतन्त्र उठ्न सकिरहेको छैन। त्यसैले, पार्टीमा चरम विवाद हुँदा २० वर्षे एक युवाले वैकल्पिक राजनीतिको मर्मलाई जोगाउन खडा गरेको साझा पार्टी, नेपाल ( चुनाव चिन्ह- पाइला ) बाट आफ्नो उम्मेदवारी दिँदै छु।
विवेकशील अभियानले विगत १० वर्षमा निकै राम्रा कामहरू गर्यो। नेपाल खुल्ला छ, भूकम्पमा गरेका कामहरू, सम्पदा संरक्षणमा निभाएको भूमिका, शिक्षा-स्वास्थ्य सुधारमा गरिएका अभियान, उद्यमशीलता प्रवर्धनमा गरेका कामहरू, युवा र महिलालाई राजनीतिमा स्थापित गर्न लिएका अग्रसरता लगायत कामहरू यो अभियानका सफलता हुन्। विवेकशील र साझाको फुट र पछिल्लो समय आएको वैचारिक विचलन हाम्रो सांगठानिक कमजोरीहरू हुन्। हामी विगत १० वर्षमा ७० % कुरामा सफल रह्यौँ। अनि, ३० % कुरामा असफल। यही सिकाइबाट थप परिपक्व बन्दै हामी आगामी दिनमा वैकल्पिक राजनीतिलाई थप अगाडी लैजाने छौँ।
हाम्रा मुद्दा
हामी यो संविधानलाई फेल बनाएर देशमा फेरी द्वन्द्व सिर्जना गर्ने कामलाई परास्त गर्न चाहन्छौँ। त्यसैले अबको राजनीति यही संविधानलाई सुधार गर्दै नागरिकको अवस्था परिवर्तन गर्न अग्रसर हुन जरुरी छ। हाम्रो मुद्दा शिक्षा, स्वास्थ्य, रोजगारी/उद्यमशीलता, सुशासन, संस्कृति सम्पदाको संरक्षण हुन्। हामीले शिक्षकको, विद्यार्थीको, युवाको, महिला/गृहिणीको मुद्दामा काम गर्दै आइरहेका छौँ र हाम्रो यो निर्वाचनको मुद्दा पनि सोही व्यक्तिहरूलाई लक्षित हुने गरी प्रस्तुत हुनेछन्। स्पष्ट एजेन्डा छिट्टै सार्वजनिक गर्ने छौँ।
फेरी पनि,
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै निर्माण भएको वर्तमान संविधान जारी भएपछिको पहिलो आम निर्वाचनमा अघिल्लो चोटि काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधि सभा सदस्य पदमा म उम्मेदवार भएको थिएँ। उक्त निर्वाचनमा, यही क्षेत्रमा जन्मे हुर्केको एउटा नौलो राजनीतिक अभियानबाट राजनीतिमा आएको नवयुवकलाई अगाध स्नेह दिनुभएको थियो। करिब ५ हजार मतसँगै मलाई सन्देश दिनुभएको थियो, ‘बाबु, यो पल्ट प्रयास गर्यौ। ५ वर्ष पछि अझ परिपक्व भएर आउनु अर्को पल्ट तिमिलाई पक्का जिताउनेछौँ।’ यही सन्देशलाई शिरोधार्य गर्दै म काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधि सभा सदस्य पदका लागि यो पटक उम्मेदवारी मनोनयन गर्दै छु। मलाई साथ, शुभेच्छा र आशीर्वाद दिनुहोला।
उज्वल भविष्यका निम्ति हामी सबैलाई शुभकामना।
नेपाल आमाको जय होस्।
मिलन पाण्डे
विवेकशील अभियानको तर्फबाट
प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार
काठमाडौँ क्षेत्र न-९
