• ट्रेण्डिङ्ग :
देउवाको चुनावी यात्रा
आरजुले गरिन् देउवाको उम्मेद्‌वारी दर्ता

आरजुले गरिन् देउवाको उम्मेद्‌वारी दर्ता


  • 5.4K
    SHARES
    • आश्विन २३, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    आरजुले गरिन्  देउवाको  उम्मेद्‌वारी दर्ता

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबार डडेल्धुराबाट उम्मेद्वारी दर्ता गराएका छन् । उनले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सातौँ पटक उम्मेदवारी दर्ता गराएका हुन् । सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेद्वारी दिएका हुन् ।

    images

    प्रधानमन्त्री देउवाको तर्फबाट उनकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले आइतबार दिउँसो मनोनयन दर्ता गराएको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा. राणा शनिबार बेलुका नै डडेल्धुरा पुगेकी थिइन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आएका छन् । 

    देउवा प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालको निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित  भएका थिए । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी भएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्न निरन्तरता दिएका  प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाले बताइन् । 

    भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिंगो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पुर्‍याएको उल्लेखनीय योगदानको स्मरण गर्दै आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको डा. आरजुले जनाएकी छन् । 

    यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर- ४ र २०७० मा कैलाली- ६ बाट पनि विजयी  भएका थिए । उनी  विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री भएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो । 

    त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उनी पाँच पटक प्रधानमन्त्री  भएका छन् । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दैछन् ।  

    डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिंगो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिएकाले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्को  कुनै विकल्प नहुने जनाएका छन् । 

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री शेरबहादुर देउवा

  • तेस्रो आँखा